गृहपृष्ठ आइसीसी टी-२० विश्वकप : न्युजिल्यान्डसँग श्रीलंका पराजित
आइसीसी टी-२० विश्वकप : न्युजिल्यान्डसँग श्रीलंका पराजित
न्युजिल्यान्डले आइसीसी टी-२० विश्वकपको समूह ‘१’मा शनिबार श्रीलंकालाई ६५ रनले पराजित गरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गरेको थियो ।
दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन मात्रै बनाउन सक्यो । श्रीलंकाका लागि भानुका राजापाक्षले ३४ तथा कप्तान दसुन शनाकाले ३५ रनबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । यस्तै, मिट्चेल सान्टनर र इश सोधीले २/२ तथा ल्युक फर्ग्युसन र टिम साउथीले १/१ विकेट लिए ।
न्युजिल्यान्डका लागि फिलिप्सले ६४ बलमा १० चौका र ४ छक्कासहित १ सय ४ रनको इनिङ खेलेका थिए । न्युजिल्यान्डले दुवै ओपनर फिन एलेन र डेभोन कोनवेलाई १/१ रनमा गुमाएको थियो । ड्रयाल मिट्चेलले २२ बाहेक अन्य ब्याटरले न्युजिल्यान्डका लागि उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
श्रीलंकाका लागि कसुन रजिथाले २ तथा महेश थिकशना, धनञ्जय डी सिल्भा, वानिन्दु हसारंगा र लहिरु कुमाराले १/१ विकेट लिए ।
न्युजिल्याण्डको यो दोस्रो जित हो । जितसँगै समूह १ मा रहेको न्युजिल्याण्डले ३ खेलमा ५ अंक जोडेको छ । न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । श्रीलंका २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित समय : ०७:५० बजे

















