काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डा. गोविन्द केसीको २५ औँ सत्याग्रह इलाममा सुरु

504
shares

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले इलाममा सत्याग्रह सुरु गरेका छन् । इलाम बजार स्थित नारायणस्थानमा उनले २५ औँ सत्याग्रह सुरु गरेका हुन् ।

केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको प्रश्न उठाउँदै विवादित निर्णय खारेज गर्न र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका माग राख्दै सत्याग्रह सुरु गरेका छन् । इलाम नगरपालिका ६ नारायणथानको मन्दिरमा उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन । डा. केसी यस अघि पनि इलाममा सत्याग्रह बसेका थिए । इलाममा उनको यो दोस्रो सत्याग्रह हो ।

बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरेका संस्थामा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको तथा विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको पूर्व संस्था सहित विभिन्न मेडिकल कलेजका विषय उठाउँदै आयोगका पदाधिकारीको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, व्यावसायिक अनुभव र निर्णयमा सम्भावित स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । छानबिनका क्रममा दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ । डा. केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम विस्तार गर्दा चिकित्सा शिक्षाको गुणस्तरमा असर पर्ने र नागरिकको स्वास्थ्यमा असर पर्ने उनको भनाई छ ।

सार्वजनिक स्रोतबाट सञ्चालित संस्थामा कम्तीमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने तथा निजी मेडिकल कलेजको व्यावसायिक स्वार्थ अनुकूल छात्रवृत्ति कटौती र मापदण्ड विपरीत सिट वृद्धि गर्ने प्रयास रोक्नुपर्ने पनि उनको माग छ । त्यसै गरी, सरकारसँग २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायका विषयमा भएको सहमति कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् । डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । जिल्लामा मेडिकल कलेज स्थापना भए स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधार विस्तार, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा सहयोग पुग्ने बताए । सरकारी मेडिकल कलेज स्थापना हुँदा सम्बन्धित क्षेत्रका विद्यार्थीले आफ्नै क्षेत्रमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउनुका साथै स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने उल्लेख छ ।

केसीको रोजाइमा किन पर्यो इलाम ? 

देशका बिभिन्न क्षेत्रमा घुमी घुमी अनसन बस्ने केसीको रोजाइ यस पटक इलाममा परेको छ । इलामका लागि यो उनको दोस्रो सत्याग्रह हो ।

उनको २५ औँ र इलामका लागि दोस्रो पटक सत्याग्रह सुरु गरेका केसीले इलाममा मेडिकल कलेज सञ्चालन हुनु पर्ने माग राखेका छन् । जुन ठाउँको मागलाई पहिलो प्राथमिकता रहन्छ सोही गाउँमा बस्ने गरेको उनको भनाई छ ।

इलाम सहित ताप्लेजुङ, पाँचथर र तेह्थुमका नागरिकका लागि यस क्षेत्रमा मेडिकल कलेज स्थापना गर्नुपर्ने उनको माग छ । यस क्षेत्रमा मेडिकल कलेज नहुँदा पूर्वी पहाडी जिल्लाका नागरिकले महंगो शुल्कमा बाहिर अध्यनका लागि जानु पर्ने र महंगो शुल्कमा उपचार गराइरहनु परेको उनको भनाई छ । सरकारले पनि कमिसनको लोभमा निजि अस्पताललाई उकास्ने खालको निति ल्याएको उनको भनाई छ । पछिल्लो समय सरकार परिवर्तन भएपनि नितिमा परिवर्तन नभएको उनको दावी छ ।