global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दुई वर्षदेखि बन्द प्रयोगशाला पुनःसञ्चालनमा

दुई वर्षदेखि बन्द प्रयोगशाला पुनःसञ्चालनमा

दुई वर्षदेखि बन्द प्रयोगशाला पुनःसञ्चालनमा

जुम्ला बजार । फाइल फोटो

दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला र तिला गाउँपालिकामा स्थापित आरोग्य केन्द्र पुनः सञ्चालनमा आएको छ ।कर्णाली प्रदेशले कर्णाली अञ्चल आयुर्वेद जुम्लालाई स्वास्थ्य सेवा कार्यालय जुम्लामा गाभेपछि त्यहाँको प्रयोगशालाले अपेक्षितरूपले काम गर्न सकेको थिएन ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत जिल्ला तहको स्वास्थ्य शाखामा सीमित गरेपछि यसले हात खुट्टा फैलाउन नसकेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।

‘यहीँ असोज ११ गतेदेखि जिल्लाको आयुर्वेद ल्याब सञ्चालन ल्याइएको छ । अब नागरिकका समस्या छिट्टै प्रयोगशालाबाट जाँच हुनेछ’, उनले भने, ‘विगतको जस्तै आयुर्वेदिक चिकित्सा पद्धतिबाट प्रवाह हुने सेवा अब निर्वाध चल्नेछ । यसका लागि हामीले जुम्लाका आठवटै स्थानीय तहसँग समन्वय गरिहेका छौँ ।’

जिल्लाको पातारासी, गुठीचौर, कनकासुन्दरी, सिञ्जा गाउँपालिका मङ्गलबारदेखि सङ्घ सरकारबाट र हिमा गाउँपालिकाको कालिकाखेतु स्वास्थ्य केन्द्रमा जिल्लाबाट पठाइएका आयुर्वेद चिकित्सकले आयुर्वेदिक उपचार सेवा प्रदान गर्दै आइरहेको निमित्त कार्यालय प्रमुख न्यौपानेले जनाए । उनका अनुसार तिला र तातोपानी गाउँपालिकाले भने आफ्नै स्रोतमा आरोग्य सेवा केन्द्र स्थापना र जनशक्ति व्यवस्थापन गरेका थिए ।

तातोपानीमा सामान्यतः सञ्चालनमा आए पनि तिला गाउँपालिकामा सेवा सुचारु हुन नसकेको बताउँदै प्रमुख न्यौपानेले भर्खरै तिला आरोग्य सेवा केन्द्रमा १६ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि, भौतिक सामग्री र उपचारात्मक उपकरण पुनर्जीवित पारिएको जनाए । सबै स्थानीय तहमा आरोग्य सेवा केन्द्र पु¥याउने सरकारी नीतिस्वरूप काम अगाडि बढाइएको उनको भनाइ थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका पूर्वअध्यक्ष मनोज बुढाथोकी मगरले आयुर्वेद क्षेत्रमा तीनै तहको सरकारले चासो नदिएको टिप्पणी गरे, ‘सरकारले आयुर्वेद क्षेत्रको न महत्व चिन्यो, न त्यसको बढोत्तरीमा महत्व दियो । सरकारले कुनै पनि लगानी नगर्दा यसको विकास र विस्तार हुन सकेको छैन ।’

प्राकृतिक चिकित्सा विधि अपनाउँदा यसले मान्छेलाई रोग लाग्नबाट बचाउने भन्दै अध्यक्ष बुढाथोकीले आयुर्वेद ज्ञान र उपचार मानव जीवनका लागि निकै महत्वपूर्ण रहेको जनाए । उनका अनुसार यसलाई स्वास्थ्य सेवामा नगाभी स्वायत्त छोड्नुपर्छ र अनुसन्धानमा जोड दिइनुपर्दछ ।

पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धतिसँग मिल्न नसक्ने नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका कर्णाली प्रदेश अध्यक्ष दीपेन्द्र कँडेलले बताए । सरकारले आयुर्वेद चिकित्सा पद्धतिलाई मास्ने गरी काम गरेको उनको भनाइ थियो । उनका अनुसार आयुर्वेदिक र एलोप्याथिक दुवैको सैद्धान्तिक र व्यावहारिकरूपमै विभिन्न किसिमका विरोधाभास छ ।

‘आयुर्वेदिक र एलोप्याथिक चिकित्सा पद्धतिलाई एकै टोकरीमा हाल्नु हुँदैन’, अध्यक्ष कँडेलले भने, ‘आ–आफ्नै चिकित्सा पद्धति ठीक भन्ठान्ने दुवै क्षेत्र अलग राखिनुपर्दछ ।’ दुवै क्षेत्रलाई एउटैमा मर्ज ं(मिलान) गर्दा द्वेष भावना उत्पन्न भई अपेक्षित प्रतिफल प्राप्त नहुने र त्यसले सेवाग्रहीमा प्रत्यक्ष असर पर्नसक्ने उनको भनाइ थियो ।

प्रकाशित समय : २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु