गृहपृष्ठ धानखेतीसँगै माछापालनमा पत्रकारिताका विद्यार्थी
धानखेतीसँगै माछापालनमा पत्रकारिताका विद्यार्थी
चितवनका एक युवा किसानले खेतमा धानसँगै माछापालन पनि सुरु गरेका छन् । भरतपुर महानगरपालिका–२५ फुलबारीका युवा रोमिनजङ्ग थापाले धान खेती गरिएकै ठाउँमा माछापालन सुरु गरेका हुन् ।
उनले माछा पाल्न पोखरी नै निर्माण गर्नुपर्छ भन्ने धारणा तथा सोचलाई परिवर्तन गरिरहेका छन् । २३ वर्षीय थापाले गत वर्ष पनि परीक्षणका रुपमा धान खेतमा माछापालन गरेका हुन् । माछासँगै धानको पनि उत्पादन राम्रो हुने देखेपछि उनले यस वर्ष पनि आफ्नो खेतमा आठ सयवटा माछाको भुरा हालेका छन् । ‘साउनमा रामपुरबाट ल्याएर धान खेतमा माछा हालेको हुँ’, उनले भने, ‘गाउँमा अरूले पनि यसरी माछापालन गर्न थालेका छन् ।’
सुरुमै २० किलो पिना र पाँच किलो ढुटो ल्याएको भन्दै उनले दैनिक आधा किलो पिना र एक पाउ ढुटो मिसाएर खेतमा हालिदिने गरेको बताए । उनले खेतमा कमन कार्भ, रहु र ग्रास कार्भ जातको माछा हालेका छन् । कात्तिकसम्म माछा खानका लागि तयार हुने उनी बताउँछन् ।
धान खेती गरिएको ठाउँमा माछापालन पनि गर्दा माछाको उत्पादन राम्रो हुने र धान उत्पादन पनि बढ्ने उनले सुनाए । ‘सिजनल रुपमा धान खेतीको समयमा मात्रै माछा हाल्ने गरेको छु । खेतमा रासायनिक मल हालिँदैन । पिनालगायतका कारण खेतमा मलिलो हुने गरेको छ । धान पनि अर्गानिक उत्पादन हुन्छ’, उनले भने ।
धानमा उनले कुलोको पानी लगाउने गरेका छन् । खेतमा धान रोपेको एक हप्तापछि थापाले २० देखि २५ ग्रामका भुरा माछा हालेका छन् । उनले प्रतिगोटा दुई रुपैयाँमा आठ सय भुरा माछा किनेका थिए ।
भुरा माछा हालेको तीन महिनामा एउटा माछा डेढ पाउको हुने र प्रतिकेजी तीन हजार ५० रुपैयाँमा बिक्री हुने थापाले बताउँछन् । नगरमा पानी सुक्ने भएका कारण तीन महिनामै बेच्नु परेको उनले सुनाए ।
धानको उत्पादन बढेपछि दोहोरो आम्दानी हुँदा उनी दङ्ग देखिन्छन् । साढे तीन कट्ठा जग्गामा धान लगाउँदा पानी जमेर सोचेको जस्तो धान नफलेको र धानको बिरुवामा रोग किरा लागेर सताएको उनले स्मरण गरे ।
धानमा हरेक वर्षजसो समस्याले सताउन थालेपछि धान खेतमै एकपटक माछा पालन गरेर विचार गर्ने सोच पलाएको उनले बताए । सुरुमा तीन सय वटा माछाको भुरा हाल्दा राम्रो उत्पादन भएपछि हरेक वर्ष धान लगाएको ठाउँमा माछापालन गर्ने सोच पलाएको उनले बताए ।
‘धान खेतीमा माछापालन गर्दा धानमा आएको लेउ झार तथा किरा माछाले आहारका रुपमा खान्छन् र धानमा लाग्ने विभिन्न रोगहरु पनि देखा पर्दैनन’, उनले भने । एउटै ठाउँमा धान र माछाबाट आम्दानी भएपछि आफूलाई धेरै सन्तुष्ट मिलेको उनको भनाइ छ ।
उनी हाल सप्तगण्डकी क्याम्पस भरतपुरमा आमसञ्चार तथा पत्रकारिता विषयमा दोस्रो वर्षमा अध्ययनरत छन् । योसँगै उहाँ निर्माण सामग्री व्यवसायमा पनि संलग्न हुनुहुन्छ । देशमा केही गर्न सकिँदैन र कुनै अवसर पनि छैन भन्दै विदेश पलायन भइरहेका युवाहरुका लागि थापाको यो काम एक उदाहरणीय बनेको छ ।
प्रकाशित समय : १७:५७ बजे




















