global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा ५५ देशको लगानी, कुन देशबाट कति ?

नेपालमा ५५ देशको लगानी, कुन देशबाट कति ?

नेपालमा ५५ देशको लगानी, कुन देशबाट कति ?

२०७८ असार मसान्तसम्म नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ अनुसार साे अवधिसम्म नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी दुई खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १९ अर्ब नौ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा यो १.२ प्रतिशतले वृद्धि भएको हाे । सो अवधिमा ३९ करोड ६७ लाख रुपैयाँ लाभांश वा फिर्ता भएको छ ।

नेपालमा औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी भित्रिने गरेको छ । नेपालले प्राप्त गर्ने कुल वैदेशिक लगानीमा ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी भइरहेको हाे । औद्योगिक क्षेत्रपछि  ऊर्जा, ग्यास स्टिम लगायतमा धेरै लगानी भित्रिने गरेको छ ।

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी भारतकाे रहेकाे छ । भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ लगानी भित्रिएकाे छ । भारतबाट प्राप्त लगानी ऊर्जा, उत्पादनमूलक क्षेत्र र वित्तीय क्षेत्रमा अधिक छ । यी क्षेत्रमा क्रमशः ४१.६ प्रतिशत, ३५.९ प्रतिशत, १९.६ प्रतिशत छ ।

भारतपछि चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिंगापुरबाट १५ अर्ब ४८ करोड  र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ रहेको प्रतिवेदनले देखाएकाे छ ।

अधिकांश नेपालीले नाम नै नसुनेकाे टापु देश सेन्ट किट्स एण्ड नेभिसबाट पनि नेपालमा लगानी आएको छ । नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी गर्नेको सूचीमा सेन्ट किट्स एण्ड नेभिस पाँचौं नम्बरमा रहेको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको जनाइएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ ।

त्यसैगरी नेपाल भित्रिएकाे लगानीको २६.९० प्रतिशत रकम सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय क्षेत्रमा रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय : २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु