global ime bank Long Banner Ad

गृहपृष्ठ वैदेशिक व्यापार १५.८८ प्रतिशत बढ्यो, व्यापार घाटा भने साढे १७ खर्ब नाघ्यो

वैदेशिक व्यापार १५.८८ प्रतिशत बढ्यो, व्यापार घाटा भने साढे १७ खर्ब नाघ्यो

वैदेशिक व्यापार १५.८८ प्रतिशत बढ्यो, व्यापार घाटा भने साढे १७ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। व्यापारसँगै आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षमा आयात १६.२० प्रतिशत बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष आयात १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ थियो।

यस्तै, निर्यात १३.८१ प्रतिशत बढेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबर थियो।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा १३.०७ प्रतिशत मा सीमित भएको छ।

डिजेल आयातमा शीर्षमा, भटमासको तेल निर्यातमा अग्रस्थान

गत आर्थिक वर्षमा सबैभन्दा बढी १ खर्ब ७२ अर्ब ४२ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ। त्यसपछि १ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको विभागले जनाएको छ।

यसैगरी ७७ अर्ब २६ करोड रुपैयाँको पेट्रोल, ६० अर्ब २८ करोड रुपैयाँको एलपी ग्यास, ५८ अर्ब ५२ करोड रुपैयाँको अर्धप्रशोधित फलाम तथा ४८ अर्ब ६९ करोड रुपैयाँका स्मार्टफोन आयात भएका छन्।

निर्याततर्फ १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ बराबरको भटमासको तेल सबैभन्दा बढी निर्यात भएको छ। त्यसपछि १२ अर्ब ६४ करोड रुपैयाँको अलैंची, १० अर्ब ३८ करोड रुपैयाँका ऊनी गलैंचा, ८ अर्ब ९४ करोड रुपैयाँको सूर्यमुखी तेल र ७ अर्ब १४ करोड रुपैयाँका जुटका कपडा निर्यात भएका छन्।

भारत र चीनसँग उच्च व्यापार घाटा

नेपालले गत आर्थिक वर्षमा भारतबाट १२ खर्ब १० अर्ब ६० करोड रुपैयाँ बराबरका वस्तु आयात गरेको छ भने २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ। यससँगै भारतसँगको व्यापार घाटा ९ खर्ब ५१ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ बराबरका वस्तु आयात हुँदा नेपालले १ अर्ब ८९ करोड रुपैयाँ बराबरका वस्तु मात्रै निर्यात गरेको छ। चीनसँगको व्यापार घाटा ४ खर्ब २३ अर्ब ३५ करोड रुपैयाँ रहेको विभागको तथ्यांकले देखाएको छ।

वीरगञ्जबाट सबैभन्दा बढी आयात–निर्यात

गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार नाकाबाट ९ खर्ब ८६ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ४७.०५ प्रतिशत हो।

त्यसपछि भैरहवाबाट ३ खर्ब ४ अर्ब १७ करोड रुपैयाँ, विराटनगरबाट २ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ खर्ब ३ अर्ब ५१ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।

निर्याततर्फ पनि वीरगञ्ज अग्रस्थानमा रहेको छ। उक्त नाकाबाट १ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्, जुन कुल निर्यातको ३६.४३ प्रतिशत हो। त्यसपछि विराटनगरबाट ८८ अर्ब ७२ करोड रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ अर्ब ९४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु