काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल–दक्षिण कोरियाबीच शिक्षा र प्राविधिक सहकार्य विस्तारबारे छलफल

1.04K
shares

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङबीच शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

बुधबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–दक्षिण कोरियाबीचको शिक्षा साझेदारी, सूचना प्रविधि, प्राविधिक शिक्षा तथा आगामी सहकार्यका सम्भावनाबारे विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री पोखरेलले आर्थिक समृद्धि र बेरोजगारी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउँदै आगामी पाँच वर्षभित्र शिक्षा क्षेत्रमा कुल बजेटको १५ प्रतिशत विनियोजन गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको जानकारी दिए।

उनले कृत्रिम बौद्धिकता (एआई) को विकास तीव्र भए पनि दक्ष प्राविधिक जनशक्तिको आवश्यकता कायमै रहने उल्लेख गर्दै प्राविधिक शिक्षामा लगानी विस्तार गरिने बताए। विद्यालय तथा उच्च शिक्षामा प्राज्ञिक स्वायत्तता सुदृढ गर्ने, विश्वविद्यालयबीच फ्याकल्टी एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्ने तथा नेपाली र कोरियाली कम्पनीबीच सहकार्यमार्फत प्राविधिक शिक्षा विकास गर्न सकिने धारणा पनि उनले राखे।

दक्षिण कोरिया सरकारले नेपालमा विद्यालय, उच्च तथा प्राविधिक शिक्षाको विकासमा सहयोग गर्दै आएको छ। विभिन्न विश्वविद्यालयसँगको सहकार्यका साथै मधेश र गण्डकी प्रदेशमा पोलिटेक्निक संस्थानको पूर्वाधार निर्माणमा पनि कोरियाको सहयोग जारी रहेको मन्त्रालयले जनाएको छ।

राजदूत पार्क तइ योङले शिक्षा, कृषि र सूचना प्रविधिलगायत क्षेत्रमा दक्षिण कोरियाले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै नेपालको शिक्षा सुधार र आर्थिक रूपान्तरणमा आफ्नो सरकार सहकार्य विस्तार गर्न प्रतिबद्ध रहेको बताए।

उनले शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिएकै कारण दक्षिण कोरियाले छोटो समयमै आर्थिक विकास हासिल गर्न सफल भएको उल्लेख गर्दै आफ्नो देशले कुल बजेटको करिब १५ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिए।