नेपाल–सिचुआनबीच पर्यटन र सांस्कृतिक सहकार्य विस्तारमा जोड
वि.सं.२०८३ साउन ७ बिहीवार १९:११
shares

काठमाडौं । नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृति, पर्यटन तथा जनस्तरको आदानप्रदान विस्तार गर्दै पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
सिचुआन प्रान्तीय संस्कृति तथा पर्यटन विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘चीन (सिचुआन)–नेपाल सांस्कृतिक तथा पर्यटन उद्योग आदानप्रदान सभा’ मा वक्ताहरूले दुवै पक्षबीच कला, संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए।
सिचुआन प्रान्तीय संस्कृति तथा पर्यटन विभागका महानिर्देशक चेन गुआङहाओले नेपाल र सिचुआनबीच समन्वय र सहकार्यमार्फत सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन सकिने बताए।
उनले नेपाल हिमाल र पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य भएको उल्लेख गर्दै सिचुआन पनि हिमशृङ्खला, प्राकृतिक सौन्दर्य र पान्डाजस्ता पर्यटकीय आकर्षणले सम्पन्न रहेको बताए। नेपालबाट सिचुआन करिब तीन घण्टाको उडान दूरीमा रहेकाले दुवै गन्तव्यबीच पर्यटक आदानप्रदानको ठूलो सम्भावना रहेको उनको भनाइ थियो।
गुआङहाओका अनुसार सन् २०२५ मा सिचुआन प्रान्तमा एक अर्ब १९ करोड आन्तरिक पर्यटकले भ्रमण गरेका छन्।
सूचना तथा प्रसारण विभागका महानिर्देशक छवीन्द्र पराजुलीले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई संस्कृति, पर्यटन र आर्थिक सहकार्यमार्फत थप मजबुत बनाउनुपर्ने बताए। उनले चिनियाँ सरकारी तथा निजी क्षेत्रलाई नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान गरे।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रामकुमार फुयाँलले नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्धलाई ऊर्जा, उद्योग, पर्यटन तथा पूर्वाधार विकासलगायत क्षेत्रमा विस्तार गर्नुपर्ने बताए। उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।
कार्यक्रममा सिचुआन एयरलाइन्सका नेपाल प्रतिनिधि सुन छाङचेउले कम्पनीले नेपालमा गुणस्तरीय र सुलभ हवाई सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै निकट भविष्यमा एयरबसमार्फत उडान विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।
कार्यक्रममा नेपाल र चीनका पर्यटन क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्नो मुलुकका प्रमुख पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै पारस्परिक भ्रमण र सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए।






















