गृहपृष्ठ औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
काठमाडौं । क्यान्सरसहित गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ। कच्चा पदार्थको मूल्यमा भएको उतारचढावका कारण बजारमा देखिएको आपूर्ति समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकारले नीतिगत सुधारको तयारी गरेको हो।
औषधि व्यवस्था विभागका अनुसार गत साता निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनसहित आवश्यक नीतिगत सुधार अघि बढाउने निर्णय गरेको छ।
खड्गीका अनुसार विगत ११ वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको छ। सरकारले तोकेको मूल्यभन्दा बजार मूल्य धेरै बढिसकेपछि उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा औषधि बिक्री गर्न नसक्दा केही औषधिको अभाव भएको उनले बताइन्।
उनका अनुसार केही औषधिको बजार मूल्य भने घटिसकेकाले सरकारले तोकेको मूल्यसमेत पुनरावलोकन गरी घटाउनुपर्ने अवस्था रहेको छ।
मूल्य समायोजनसम्बन्धी सिफारिस स्वास्थ्य तथा जनसंख्यामन्त्रीको अध्यक्षतामा रहने औषधि परामर्श परिषद्मा पेस गरिनेछ। परिषद्बाट स्वीकृत भएपछि प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने र मन्त्रिपरिषद्को अनुमोदनपछि नेपाल राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइने कानुनी व्यवस्था छ।
करिब दुई साताअघि बजारमा क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्प्लाटिन लगायत प्लाटिनम समूहका औषधि तथा सलाइनमार्फत दिइने केही इन्जेक्सनको अभाव देखिएको थियो। त्यसले उपचाररत बिरामीलाई आवश्यक औषधि उपलब्ध गराउन कठिनाइ उत्पन्न गरेको थियो।
नेपालमा औषधिको मूल्य निर्धारण तथा समायोजन गर्दा भारतको नेसनल फार्मास्युटिकल प्राइसिङ अथोरिटी (NPPA) ले तोकेको सिलिङ मूल्यलाई आधार मान्ने अभ्यास रहेको विभागले जनाएको छ।
विभागका अनुसार मूल्य समायोजनको कानुनी प्रक्रिया अघि बढिरहेका बेला बजारमा औषधिको अभाव हुन नदिन उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वय तथा सहजीकरणको कामसमेत भइरहेको छ।
प्रकाशित समय : १९:१३ बजे



















