गृहपृष्ठ ‘महिला उद्यमीलाई थप प्रोत्साहन भए ढाका उद्योगले फड्को मार्छ’ : सीतम भण्डारी

‘महिला उद्यमीलाई थप प्रोत्साहन भए ढाका उद्योगले फड्को मार्छ’ : सीतम भण्डारी

‘महिला उद्यमीलाई थप प्रोत्साहन भए ढाका उद्योगले फड्को मार्छ’ : सीतम भण्डारी

नेपाली ढाका उद्योगलाई नेपालको मौलिक पहिचान, सांस्कृतिक सम्पदा, अर्थतन्त्र र रोजगारीको महत्वपूर्ण आधारका रूपमा हेरिन्छ। हस्तकलामा आधारित यो उद्योग पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै आधुनिक मेसिन तथा औजारको प्रयोगसँग पनि जोडिएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलालाई रोजगारी उपलब्ध गराउँदै आएको ढाका उद्योगले समयअनुसार आफूलाई परिमार्जन गर्दै आएको छ। आधुनिकीकरणसँगै बजार विस्तार र अन्तर्राष्ट्रियकरणको प्रक्रियाले पनि यस उद्योगको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।

नेपालमा ढाका उद्योगका प्रमुख केन्द्रहरुमा खासगरी पुर्वी जिल्लाहरुमा तेह्थुम र धनकुटा हुन् भने पश्चिमी नेपालको पाल्पा जिल्ला मुख्य रहेको छ । नेपालमा ढाका उद्योगका प्रमुख केन्द्र पूर्वी जिल्लाहरू तथा पश्चिम नेपालका पाल्पा हुन्। विशेषगरी पाल्पामा सञ्चालित ढाका उद्योगले उत्पादनको ठूलो हिस्सा ओगटेको छ। सन् १९५० को दशकमा पाल्पाको तानसेनबाट गणेशमान महर्जनले व्यावसायिक रूपमा नेपाली ढाका उत्पादन सुरु गरेको मानिन्छ। त्यसयता नेपाली ढाका उद्योगले देशभर लोकप्रियता हासिल गर्दै आएको छ।

यसै सन्दर्भमा पाल्पाको तानसेनस्थित मदनपोखरा ढाका उद्योगकी सञ्चालक सीतम भण्डारीसँग नेपाली ढाका उद्योगको वर्तमान अवस्था, भविष्य, उत्पादन र निर्यातका विषयमा न्युज कारोबारका लागि माधव आचार्यले टेलिफोनमार्फत गरेको कुराकानीको सम्पादित अंश :

 नेपालमा तपाईको उद्योगबाट उत्पादनहुने ढाका कपडाहरुको नेपाली बजार कस्तो छ ?

सुरुआती दिनमा उत्पादन गर्न निकै कठिन थियो। उत्पादित सामग्री बजार पुर्‍याउन झन् बढी कठिनाइ र चुनौतीको सामना गर्नुपर्थ्यो। आज उद्योग सञ्चालन गरेको दशकभन्दा बढी समयपछि यहाँसम्म आइपुग्दा उत्पादन र बजारबीच राम्रो तादात्म्य कायम भएको छ। बजारको मागअनुसार उत्पादन गर्न सक्ने अवस्थामा पनि हामी आइपुगेका छौं। खासगरी मदनपोखरा ढाका उद्योगबाट उत्पादित सामग्री नेपालका करिब ७७ वटै जिल्लामा सप्लाई हुँदै आएको छ। तीमध्ये सबैभन्दा नजिक रहेको पोखरा बजार नै उत्पादनको मुख्य बजार बनेको छ। यसका साथै काठमाडौंलगायत देशका अन्य सहरबाट पनि हाम्रो उत्पादन मन पराइएकाले निरन्तर माग हुने गरेको छ।

एउटै प्रकारका उत्पादनभन्दा फरक प्रकारका सामग्रीको माग बढी हुने भएकाले  उपभोक्ताको चाहना र बजारको मागलाई ध्यानमा राखेर उत्पादन गर्दै आएका छौं। ढाका कपडाबाट निर्मित साडी, चोली, ब्याग, साथै पुरुषले प्रयोग गर्ने अस्कोट, जुवारीकोट, टोपीलगायतका सामग्री उत्पादन गर्दै आएका छौं, जसको नेपालभित्रको बजारमा निकै उत्साहजनक माग रहेको छ।

नेपाली ढाका कपडाबाट निर्मित वस्तुको अन्तराष्ट्रिय बजार कस्तो छ ?

ढाका कपडाबाट निर्मित सामग्री एउटै प्रकारमा मात्र उत्पादन गरियो भने नेपालबाहिर वा विदेशी बजारमा सप्लाई गर्न केही अप्ठ्यारो हुन्छ। तर फरक-फरक प्रकारका सामग्री उत्पादन गर्न सकियो भने विदेशी बजारमा पठाउन सहज हुन्छ। यही कारण  हाल उत्पादन गरिरहेका ढाका सामग्रीलाई विभिन्न डिजाइन र प्रकारमा उत्पादन गर्दै आएका छौं। यसरी उत्पादन गरिएका सामग्री युरोप, अमेरिका लगायत अन्य थुप्रै मुलुकमा पठाउने गरेका छौं। त्यसैले नेपाली ढाका उद्योगबाट उत्पादित सामग्री अन्तर्राष्ट्रिय बजारमा पनि सन्तोषजनक रूपमा खपत भइरहेको छ।

वस्तु उत्पादनको मौंसम वा समय हुन्छ कि बाह«ै महिना उत्पादन र विक्रि भईरहन्छ ?

असारदेखि भदौसम्मको अवधिमा हामी विशेष रूपमा उत्पादनमा केन्द्रित हुन्छौं। यी दुई–तीन महिनामा उत्पादन गरिएका ढाका सामग्री दशैं, तिहार र त्यसअघि आउने हरितालिका तीजलगायतका नेपाली चाडपर्वलाई लक्षित हुन्छन्। यी पर्वका बेला अन्य समयको तुलनामा  माग बढी हुने भएकाले यही अवधिमा उत्पादन बढाउँछौं। त्यसपछि चाडपर्वका समयमा बिक्री–वितरण र सप्लाईलाई सहज बनाउँदै बजार र उपभोक्ताको माग पूरा गर्ने प्रयास गर्छौं।

 तपाई एउटा महिला उद्यमी हुनुहुन्छ,तपाई आफू उद्यमी हुनु भन्दा पहिले के गनु हुन्थ्यो ? अहिले आएर कस्तो अनुभूति गर्नु भएको छ ?

उद्योग सञ्चालन गर्नुअघि यस्तै प्रकृतिका उद्योगमा ज्यालादारी काम गर्थें। त्यसपछि २०६२ सालमा नेपाली हस्तकला तथा घरेलु उद्योगद्वारा सञ्चालित तालिम लिने अवसर पाएँ। तालिमपछि आफ्नै लगानीमा सानो स्केलबाट ढाका कपडा उत्पादन गर्दै सिलाइ–कटाइको काम सुरु गरेँ। विस्तारै अनुभव, सीप र मेहनतका आधारमा उद्योगलाई अघि बढाउँदै आजको अवस्थासम्म आइपुगेकी छु। अहिले एउटा स्थापित ढाका उद्योग सञ्चालन गर्न सकेकोमा सन्तुष्टि लागेको छ।

सुरुका दिनमा अनेकौं कठिनाइ र चुनौती सामना गर्नुपरे पनि निरन्तरको मेहनत, सीप र लगनशीलताकै बलमा ती सबै अवस्थालाई पार गर्दै यहाँसम्म आइपुगेकी हुँ। विगतका संघर्ष सम्झँदा आजको उपलब्धिले थप हौसला दिएको छ र आगामी दिनमा उद्योगलाई अझ विस्तार गर्दै लैजाने आत्मविश्वास बढेको छ।

अन्त्यमा,नेपाली ढाका उद्योगलाई अझ राम्रो र गुणस्तरिय बनाउनका लागि नेपाल सरकार र सरोकारवाला पक्षहरुले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ तपाईलाई ?

हामीले बटुलेको अनुभव र आर्जन गरेको सीपलाई देशव्यापी रूपमा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन राज्यको थप सहयोग आवश्यक छ। विशेषगरी महिला उद्यमीले सञ्चालन गरेका उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ। पर्याप्त पूँजीको अभावका कारण उद्योग विस्तारदेखि बजार व्यवस्थापनसम्म विभिन्न चुनौती सामना गर्नुपरेको छ। त्यसैले मध्यमस्तरका उद्यमीलाई अनुदान तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था भए उत्पादन र बजार दुवै विस्तार गर्न सहज हुने विश्वास छ। यसले स्वदेशी उद्योगको विकाससँगै मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढाउन पनि सहयोग पुग्नेछ। यस्ता उद्योग–व्यवसायका समस्या, सम्भावना र अवसरलाई तथ्यका आधारमा उजागर गर्दै राज्य र आमसरोकारवालासम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहने मेरो बुझाइ छ।

त्यसैगरी, नेपाली ढाका उद्योगबाट उत्पादित ढाका साडी, चोली, ओढ्ने, सललगायतका सामग्रीलाई महिला सरकारी कर्मचारीका लागि हप्ताको एक दिन अनिवार्य पोसाकका रूपमा तथा पुरुष कर्मचारीका लागि जुवारीकोट, अस्कोट र ढाका टोपीको प्रयोगलाई नीतिगत रूपमा प्रोत्साहन गर्न सकिए स्वदेशमै उत्पादित ढाकाजन्य सामग्रीको आन्तरिक बजार विस्तार हुने थियो। त्यसले उत्पादन र बिक्री–वितरण बढाउनुका साथै स्वदेशी उद्योगलाई टेवा पुग्ने र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने मेरो विश्वास छ।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु