गृहपृष्ठ पाकिस्तानमा बाढी : आश्रय शिविरमा ४७ लाख गर्भवती महिला
पाकिस्तानमा बाढी : आश्रय शिविरमा ४७ लाख गर्भवती महिला
पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजारभन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् । स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै आइतबार सोबारे तथ्यांक सार्वजनिक गरेका छन् ।
सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्यांक सार्वजनिक गरेकी हुन् । उनले बाढी पहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन् । सो प्रान्तमा १ लाख ३४ हजारभन्दा बढी झाडापखाला र ४४ हजार मलेरियाका घटनाहरू रिपोर्ट गरिएको छ ।
गत अगस्ट ३० मा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष, यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६ लाख ५० हजार गर्भवती महिला रहेका र जसमध्ये ७३ हजार जना यसै महिनामा सुत्केरी हुन लागेका उल्लेख गरेको छ ।
बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन् । यस्तै, १०० भन्दा बढी सर्पदंश र ५०० भन्दा बढी कुकुरको टोकाइबाट पीडित भएका डन अखबारले उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसंघ एजेन्सीले महिलाहरू लैंगिक हिंसाको बढ्दो जोखिममा रहन सक्ने चेतावनी जारी गरेको छ । किनकि, बाढीबाट करिब १० लाख घर क्षतिग्रस्त भएका छन् र विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन् ।
पाकिस्तानले यस वर्ष विनाशक बाढीको सामना गरेको छ, जसले देशका करिब तीन करोड तीस लाख मानिसहरूलाई असर गरेको छ भने दशौं हजार मानिसहरूलाई विस्थापित गरेको छ ।
स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाका घटनाहरू रिपोर्ट गरिएका छन् । त्यस्तै, यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेका तथ्यांकले देखाएको छ ।
प्रकाशित समय : १९:१७ बजे

















