गृहपृष्ठ प्रदीप गिरि : ‘अनटेस्टेड, बट रेफ्री’

प्रदीप गिरि : ‘अनटेस्टेड, बट रेफ्री’

प्रदीप गिरि : ‘अनटेस्टेड, बट रेफ्री’

प्रदीप गिरिको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो रिक्तता अब कहिल्यै पनि पूर्ति हुँदैन भन्ने विश्वास गर्नेको संख्या पनि ठुलै छ । नेपालको संसद्‌मा समाजवादी कोणबाट राज्यको नीति, कार्यक्रम र बजेटको समीक्षा गर्ने अनि बिना आग्रह त्यसलाई ठिक बेठिक भन्न सक्ने आत्मविश्वासी स्वर पनि अब कमजोर हुने निश्चित रहेको महसुस गरिएको छ ।

निधन शास्वत नियम हो । ‘मृत्यु नै जीवनको अन्तिम पाना हो’–प्रदीप गिरिले एकपटक कतै भनेको स्मरण छ । उहाँको दर्शनलाई मान्ने हो भने मृत्यु नै जीवनको पूर्णता हो । तसर्थ, उहाँको जीवन अब ‘पूर्ण’ भएको छ । ‘पूर्णता’ पाएको उहाँको जीवनको समीक्षा गर्दा उहाँका प्रतिस्पर्धीहरुले पनि उहाँको सादगी र दार्शनिक पक्षको चर्चा र प्रशंसा गरिरहेका छन् । यसले के देखाउँछ भने उहाँले सफलतापूर्वक ‘इहलीला’ समाप्त गरेका छन् ।

प्रदीप गिरिले लामो आफ्नो राजनीतिक जीवनमा समाजवादको अध्ययन, विश्लेशण, चर्चा–परिचर्चा र संस्लेषण गर्नुभयो । यसैमा उहाँ रमाउनुभयो । एकपटक बिपी कोइरालालाई उहाँले आग्रह गर्नुभएको थियो, ‘सान्दाजु अब मेरो सक्रियता समाजवादको अध्ययनमा केन्द्रित गर्छु । समाजवादीहरुसँग मेरो संसर्ग बढाइदिनु पर्यो ।’ भारतीय समाजवादी नेताहरुलाई बिपी कोइरालाले पत्र नै लेखेर गिरिलाई भेट्न र सम्बन्ध बनाउन आग्रह गर्नुभएको थियो । समाजवादप्रतिको उहाँको रुचीलाई यो कसीमा राखेर पनि हेर्न सकिन्छ । एकपटक पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले बिपीका बारेमा भन्नुभएको थियो, –‘युगभन्दा चाँडो जन्मिएका कारण बिपीलाई नेपाली समाजले चिन्न सकेन । उहाँ नेपाली समाजको चेतना स्तरभन्दा धेरै माथि हुनुहुन्थ्यो ।’ बिपीको आत्मवृतान्तमा पनि कहीँ कतै उहाँले शास्त्रीय छलफल गर्ने समूह नपाएको सन्देश दिनुभएको छ । तर, प्रदीप गिरि बिपीका अगाडि देखा पर्ने यस्ता युवा हुनुहुन्थ्यो, जसले बिपीसँग समाजवादको शास्त्रीय छलफल गर्ने हैसियत राख्दथ्यो र त्यो छलफलप्रति बिपीको रुची बढ्थ्यो । बिपीलाई प्रश्न सोध्ने उहाँको हैसियत देख्दा उहाँका कतिपय सहकर्मीहरूले उहाँलाई बक्रदृष्टिले हेरेका दृष्टान्तहरू पनि छन् । उहाँको अध्ययनको ओजले त्यस्ता बक्रदृष्टिहरु धेरै तल नै बिलुप्त हुन पुगे ।

दर्शनप्रतिको अगाध आस्था, त्यसको व्याख्याता र सक्रिय राजनीति । यो दुवैलाई समायोजन गर्दै हिँड्न सक्ने पात्रहरु कमै पाउँछ समाजले । गिरिले त्यो हैसियत बनाउनुभयो भन्न सकिन्छ । उहाँ सक्रिय राजनीतिबाट विश्राम नलिएरै दर्शनको महत्वको प्रचार गर्दै हिँडिरहनुभयो । कांग्रेसको नेता, सांसद् तर, कम्युनिस्टहरुलाई मार्क्सवाद र साम्यवाद पढाउँदै हिँड्ने पात्र एउटै ! राजनीतिक रूपमा विभक्त नेपाली समाजमा यो कुरा असम्भव लाग्छ । तर, प्रदीप गिरि त्यस्तो ‘असम्भव पात्र’ बनेर पनि आफ्नो थप परिचय स्थापित गर्न सफल हुनुभयो । समाज विकासको क्रममा मार्क्सवादलाई स्वभाविक दर्शनका रुपमा उहाँले व्याख्या गर्दै हिँड्नुभयो । उनले भने,–‘मार्क्सको दर्शनप्रतिका मेरा असहमतिहरू छन्, तर त्यो एउटा स्वभाविक दर्शन हो ।’ उहाँको अध्ययन, आत्मविश्वास र स्पष्ट दृष्टिकोणपछिको अभिव्यक्ति थियो यो ।

बिपी कोइरालाबाट निकै प्रभावित, दीक्षित उहाँको सबैभन्दा प्रिय कुरा थियो–स्वतन्त्रता । स्वतन्त्रताको अभावमा दर्शन पनि निर्माण हुन सक्दैन र स्वतन्त्रतालाई अस्वीकृत गर्ने दर्शन समाजको लागि उपयोगी पनि हुनै सक्दैन । तुलसी गिरिको परिवारका प्रदीपलाई एकपटक आफ्ना परिवार र शुभेच्छुकहरूबाट पञ्चायतमा प्रवेश गर्न निक्कै दबाब परेको थियो । उहाँले पञ्चायतमा दर्शन देख्नु भएन र दबाबलाई अस्वीकृत गरी दिनुभयो । पारिवारिक दबाब र स्वतन्त्रताको लडाइँ रोज्दा उहाँ स्वतन्त्रताको लडाइँको कित्तामा उभिनुभयो । मार्क्सवादको प्रशिक्षक भएर हिँड्दै गरेका उहाँ कहिल्यै कम्युनिस्ट हुनुभएन । यी दुई सन्दर्भले उहाँ स्वतन्त्रताको बलिया पक्षधर भएको प्रमाणित हुन्छ ।

‘गाउँले सभ्यताको विकास गर्ने बजेट भएन’ भनेर तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको बजेटमाथि संसद्‌मा उहाँले गरेको टिप्पणी निकै चर्चित रह्यो । बिपीले परिकल्पना गरेको नेपालको सन्दर्भमा प्रजातान्त्रिक समाजवादको व्याख्या गर्न उहाँ अब्बल हुनुहुन्थ्यो । प्रष्ट वक्ता र सरल शब्दचयन उहाँका विशेषता थिए । यी विषेशताको उचाईबाट उहाँले सबैलाई ललकार्ने हैसियत राख्नुहुन्थ्यो ।

एउटा सन्दर्भमा कांग्रेसका केही नेताहरुले आफ्नो कार्यकालको उपलब्धिहरू सुनाउने क्रममा भन्दै थिए कि हाम्रो पालामा यति विद्यालय थपिए, यति स्वास्थ्यचौकी थपिए आदि आदि । कार्यक्रमको अन्त्यतिर बोल्दै गिरिले भन्नुभयो, ‘तपाईंहरूले थपेको सरकारी स्कूलमा कति विद्यार्थी पढ्छन् आज ? तपाईंहरूले थपेका स्वास्थ्य चौकीमा कति बिरामी आउँछन् आज ? तपाईंहरुले त्यो हेर्नुभएको छ ? भौतिक संरचनाको निर्माण मात्र समाजवादको पूर्वाधार हैन ।’ उदारवादी अर्थतन्त्रको अभ्यास गर्दै गर्दा राज्य आफ्नो दायित्वबाट बिमुख हुन पाउँदैन भन्ने सन्दर्भमा उहाँको यो भनाइ आएको थियो ।

तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उहाँको समाजवादप्रतिको सम्मोहको एउटा बलियो उदाहरण हो । दर्शनको व्याख्या गर्नेहरु प्रायः एकांकी, सामूहिक गफगाफमा रुचि नदिने स्वभावका हुन्छन् । एकोहोरो बोलिरहन रुचाउँछन् । तर, गिरि फरक हुनुहुन्थ्यो । गाउँमा गएर सँवाद गर्ने, सुन्ने उनको रुचि नै थियो । युवाहरुलाई अभिप्रेरित गर्ने उनीहरूसँगको संवादमा जोड दिने उहाँको क्षमता र स्वभाव थियो ।

गिरि पटकपटक सांसद हुनुभयो तर मन्त्री बन्न चाहनुभएन । मन्त्री किन नभएको भन्ने प्रश्नको मनमौजी जवाफ दिनुहुन्थ्यो, ‘कसैले बनाए पो हुने’ भन्ने जस्तो जवाफ आउँथ्यो । उहाँ आफैँ परीक्षणमा जाने भन्दा परीक्षणमा गएकाहरुको मूल्यांकन र खबरदारी गर्ने पात्रका रुपमा आफूलाई उभ्याउन इच्छुक देखिनुभयो । अर्थात् उहाँ ‘अनटेस्टेड वट रेफ्री’को भूमिकामा नेपाली राजनीतिमा रहनुभयो । उहाँ सांसद् रहँदा अरु बेला नबोले पनि सरकारको नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य बोल्नुहुन्थ्यो । सरकार उहाँको पार्टीको होस् वा नहोस्, उहाँको समाजवादको आलोकमा त्यसको समीक्षा गर्नुहुन्थ्यो । उहाँ संसद्‌मा बोल्दै गर्दा प्रजातान्त्रिक समाजवादको शिविरजस्तै बन्थ्यो संसद् । कार्यकारीहरु त्रसित हुन्थे । संसद्ले अब त्यो विशिष्ट क्षण प्राप्त गर्ने छैन । नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डोर्याउनका लागि गरिने खबरदारीको उचो स्वर सुन्न पाउने छैनन् । यो रिक्तता हाम्रो लागि अब बाध्यता हो । अलबिदा प्रदीप दाइ ।

(लेखक विपुल पोख्रेल नेपाल पत्रकार महासंघका अध्यक्ष हुन्)

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु