गृहपृष्ठ सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
काठमाडौं । सुविसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। आगामी एनपीएल सिजनका लागि सुविसु र सुदूरपश्चिम रोयल्सबीच सहकार्य गर्ने सम्झौता भएको हो।
सम्झौतामा सुविसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउद र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन्। सहकार्यअनुसार सुविसुले टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ।
सुविसुका सीईओ साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए।
‘यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ,’ उनले भने, ‘नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ।’
सुविसुका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको बताए। सुदूरपश्चिम रोयल्ससँगको सहकार्य खेलकुदप्रतिको कम्पनीको निरन्तर प्रतिबद्धताको हिस्सा भएको उनको भनाइ छ।
‘एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याइरहेको छ। सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता हो,’ श्रेष्ठले भने।
सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले सुविसुसँगको सहकार्यले टोलीको व्यावसायिक तथा डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए।
उनका अनुसार सहकार्यलाई व्यावसायिक साझेदारीमा मात्र सीमित नराखी टोली, समर्थक र डिजिटल कनेक्टिभिटीबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य राखिएको छ।
‘नेपाली क्रिकेट र विशेषगरी सुदूरपश्चिम रोयल्सको यात्रामा प्रविधि र डिजिटल कनेक्टिभिटीको भूमिका महत्वपूर्ण छ,’ खड्काले भने, ‘सुविसुसँगको सहकार्यले हाम्रा समर्थक र टोलीबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।’
सुदूरपश्चिम रोयल्सले आगामी एनपीएल सिजनका लागि टोली निर्माणलाई तीव्रता दिएको छ। टोलीले यसअघि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ।
प्रकाशित समय : ०८:५५ बजे


















