गृहपृष्ठ एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल वारियर्स नयाँ फ्रेन्चाइज टोली
एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम रोयल वारियर्स नयाँ फ्रेन्चाइज टोली
काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (EWV) ले तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्स घोषणा गरेको छ। नयाँ टोलीको सहभागितासँगै नेपाली महिला भलिबलको व्यावसायिक फ्रेन्चाइज संरचना थप विस्तार हुने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीसँग रहेको छ। टोलीले सुदूरपश्चिमको भलिबल प्रतिभा र खेलप्रतिको उत्साहलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ।
विशेषगरी ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित समुदायका महिला खेलाडीलाई पहिचान गरी उनीहरूको क्षमता विकास गर्ने र व्यावसायिक खेलको अवसर उपलब्ध गराउने टोलीको उद्देश्य छ।
फ्रेन्चाइज स्वामित्व समूहका तर्फबाट सञ्जीप शाहीले सुदूरपश्चिममा महिला भलिबलको प्रतिभा र सम्भावना भए पनि हालसम्म फ्रेन्चाइज टोलीमार्फत राष्ट्रिय लिगमा प्रतिनिधित्व हुन नसकेको बताए।
‘सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ। ग्रामीण तथा दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडी पहिचान र विकास गर्दै उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो,’ शाहीले भने।
उनले सुदूरपश्चिमको पहिचान र क्षमतालाई प्रतिनिधित्व गर्ने टोली निर्माण गर्दै युवा महिलाका लागि भलिबलमार्फत अर्थपूर्ण अवसर सिर्जना गर्ने बताए।
सुदूरपश्चिमलाई लिगसँग जोड्ने प्रयास
एभरेस्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा गौरव लागेको बताइन्।
उनका अनुसार लिगको सुरुवातदेखि नै सुदूरपश्चिमका भलिबलप्रेमी दर्शकलाई लिगसँग जोड्ने र यस क्षेत्रमा भलिबलको विकासमा रहेको योगदानलाई सम्मान गर्ने लक्ष्य थियो।
‘उत्साही र प्रतिबद्ध स्वामित्व समूहको आगमनसँगै EWV को राष्ट्रिय उपस्थितिलाई अझ सुदृढ गर्दै सुदूरपश्चिमलाई नेपालको राष्ट्रिय खेलसँग अझ मजबुत रूपमा जोड्ने दिशामा अघि बढ्नेछौँ,’ चापागाईंले भनिन्।
लिगको तेस्रो संस्करणलाई थप प्रभावकारी र रोमाञ्चक बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ। आगामी दिनमा लिगसँग सम्बन्धित थप घोषणा सार्वजनिक गरिने आयोजकको भनाइ छ।
प्रकाशित समय : ०८:५९ बजे


















