गृहपृष्ठ राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड
राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छन् ।
पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हिरकजयन्ती समापन समारोहलाई आज सम्बोधन गर्दै उनले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारी भन्छिन्, ‘सीपमूलक, वैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा भएकोले गुणस्तरीय शिक्षामा नगारिकको समतामूलक एवं न्यायोचित पहुँच स्थापना गर्नुपर्दछ ।’
सामुदायिक शिक्षाका क्षेत्रमा राज्यले गरिरहेको लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेका अवस्थामा विन्ध्यवासिनी माध्यमिक विद्यालयले आफूलाई मुलुकभरकै उत्कृष्ट पाँच विद्यालयमा स्थापित गर्न सकेको भन्दै उनले खुसी व्यक्त गरिन् । विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेकोमा पनि उनले खुसी व्यक्त गरिन् ।
पूर्खाको त्याग र बलिदानबाट राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले हामीले आफ्नो गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई बढाउनुपर्ने बताइन् । विद्यालयले प्रदान गर्ने शिक्षाबाट समाज, राष्ट्र र राष्ट्रियताप्रतिको दायित्व बोध हुने उनले अपेक्षा व्यक्त गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का निर्देशक रामशरण सापकोटा, अतिथि सत्कार समितिका संयोजक दानबहादुर बाँनियालगायतले विद्यालयका विविध अवस्थाको सम्बन्धमा आफ्ना विचार राखेका थिए । कार्यक्रममा विद्यार्थीका तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
प्रकाशित समय : १६:३५ बजे

















