मधेस प्रदेश सरकारको आन्दोलन स्थगित
वि.सं.२०७९ साउन ३१ मंगलवार १६:२४
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरूद्धको आन्दोलन स्थगित गरेको छ ।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह जनकपुर आएको दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग आईजीपी सिंहले भेटघाट पनि गरेका छन् । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले मुख्यमन्त्री राउतसँग भेटवार्ता गरेका हुन् ।
आईजीपी सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका हुन् । सो कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी भएका थिए ।
प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो ।
निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधामन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको मुख्यमन्त्री राउतले बताए ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले निर्वाचनपछि प्रहरी समायोजन गर्ने सरकारले आफूकहाँ प्रतिबद्धता गरेको धर्नास्थलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
गृह तथा सञ्चारमन्त्री साहको नेतृत्वमा आन्दोलन सुरू गरिएको थियो ।

























