गृहपृष्ठ कर्जा ठप्प हुँदा पनि बैंकको नाफा २३ प्रतिशत बढ्यो
कर्जा ठप्प हुँदा पनि बैंकको नाफा २३ प्रतिशत बढ्यो
अघिल्लो आर्थिक वर्षको वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब २० प्रतिशतले मात्र बढेको थियो । तर लगानीयोग्य रकम नभएकाले बजार मागअनुसार कर्जा प्रवाह नहुँदा पनि यसपाली वाणिज्य बैंकहरूको खुद नाफा करिब २३ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह गर्न पाएनन् ।
नियामक निकायको निर्देशनअनुसार अनिवार्य नगद मौज्दात (सीआरआर) र कर्जा निक्षेप अनुपात (सीडी) कायम गर्न पनि राष्ट्र बैंकबाट ठूलो परिमाणमा अल्पकालीन सापटी लिनुपर्यो । तर समग्रमा बैंकहरूको वार्षिक खुद नाफाको वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा थप सवा तीन प्रतिशत विन्दुले बढेको बैंकहरूले प्रकाशन गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षमा २६ वटा वाणिज्य बैंकले कुल ७४ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत आर्थिक वर्षमा सबै बैंकको खुद नाफा १ अर्ब रुपैयाँभन्दा माथि छ । यसअनुसार ५ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएर राष्ट्रिय वाणिज्य बैंक पहिलो बनेको छ भने १ अर्ब ३५ करोड नाफासहित सेन्चुरी बैंक सबैभन्दा पछि छ ।
प्रकाशित समय : १०:२४ बजे



















