काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एससीटी र डिप्रोक्स लघुवित्तबीच डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता

630
shares

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्तबीच भएको सम्झौताले लघुवित्तका ग्राहकलाई डिजिटल भुक्तानी सेवामा जोड्ने बाटो खोलेको छ।

सम्झौतापछि डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यले पनि वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकसरह आधुनिक डिजिटल भुक्तानी सेवा र कार्ड सुविधाको लाभ लिन सक्नेछन्। एससीटीले सञ्चालन गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको नेटवर्कमार्फत लघुवित्तले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउनेछ।

कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले यस सहकार्यले ग्रामीण क्षेत्र तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि (फिनटेक) र डिजिटल बैंकिङ सेवा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

लघुवित्तका ग्राहकलाई कार्ड सेवामा पहुँच उपलब्ध गराउनु वित्तीय समावेशीकरणको दृष्टिले महत्त्वपूर्ण कदम भएको संस्थाको भनाइ छ। यसले परम्परागत वित्तीय सेवामा निर्भर ग्राहकलाई आधुनिक भुक्तानी प्रणालीसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थापनाकालदेखि नै समाजका विभिन्न वर्गसम्म आधुनिक भुक्तानी प्रविधि पुर्‍याउने लक्ष्य राख्दै आएको एससीटीले ‘नेटवर्क फर अल’ (Network for All) अवधारणाअनुसार लघुवित्त क्षेत्रका सेवाग्राहीलाई पनि सुरक्षित, सहज र आधुनिक डिजिटल भुक्तानी सेवामा आबद्ध गराउने लक्ष्य लिएको जनाएको छ।

यस सहकार्यले नेपालको डिजिटल वित्तीय प्रणालीलाई थप समावेशी र सर्वसुलभ बनाउन योगदान पुर्‍याउने विश्वास एससीटीले व्यक्त गरेको छ।