NPL को अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्यो नियोफिन हायर पर्चेज
News karobar
वि.सं.२०८३ कात्तिक ८ आइतवार १७:३३
630 shares
काठमाडौं । नियोफिन हायर पर्चेज प्रा.लि. नेपाल प्रिमियर लिग (NPL) को अफिसियल प्लाटिनम क्याप स्पोन्सर बनेको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) र टिमर्स स्पोर्ट्स मार्केटिङ प्रा.लि.बीचको त्रिपक्षीय सम्झौताअनुसार नियोफिन हायर पर्चेजले एनपीएलको दोस्रो संस्करणमा अफिसियल प्लाटिनम क्याप स्पोन्सरको जिम्मेवारी पाएको हो।
सम्झौताअनुसार प्रतियोगिता अवधिभर सबैभन्दा बढी रन बनाउने ब्याटरलाई २० लाख रुपैयाँको नगद पुरस्कार राशि सहितको ‘नियोफिन क्याप’ प्रदान गरिनेछ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करण (NPL Season 3) का टी–२० क्रिकेट प्रतियोगिता आगामी २५ अक्टोबरदेखि २२ नोभेम्बर २०२६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आयोजना हुने जनाइएको छ।
सम्झौताबारे प्रतिक्रिया दिँदै नियोफिन हायर पर्चेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद तिम्सिनाले नेपालमा क्रिकेट सबै उमेर समूहका लागि लोकप्रिय खेलकुदका रूपमा स्थापित भइसकेको बताए। उनले नेपाल प्रिमियर लिगजस्ता प्रतिष्ठित प्रतियोगितामा साझेदारी गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै सबैभन्दा बढी रन बनाउने ब्याटरलाई प्रदान गरिने नियोफिन क्याप उत्कृष्टता, निरन्तरता र लगनशीलताको प्रतीक हुने बताए। यस सहकार्यले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वाससमेत उनले व्यक्त गरे।
क्रिकेट एसोसिएसन अफ नेपाल तथा टिमर्स स्पोर्ट्स मार्केटिङ प्रा.लि.ले पनि यस सहकार्यले प्रतियोगिताको प्रतिष्ठा तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नियोफिन हायर पर्चेज प्रा.लि.बारे
नियोफिन हायर पर्चेज प्रा.लि. नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज कारोबार गर्ने गैरबैंकिङ वित्तीय संस्था हो। कम्पनीले कर्जा अर्गनाइजेसनअन्तर्गत सञ्चालन हुँदै आएको जनाएको छ। कम्पनीले काठमाडौं र पोखरास्थित शाखा कार्यालयमार्फत ग्राहकलाई सरल, पारदर्शी र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।