काठमाडौँ उपत्यकामा ११ महिनामै १७ हजार सवारी दुर्घटना
वि.सं.२०७७ असार २९ सोमवार १८:०३
shares

काठमाडौँ उपत्यकामा ११ महिनामै १७ हजारभन्दा बढी सवारी दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालू आर्थिक वर्षको जेठसम्ममा १७ हजार ७५ सवारी साधन दुर्घटनामा परेका हुन् ।
उपत्यकामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन् । यो अवधिमा उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा ६ हजार ६५३ वटा मोटरसाइकल दुर्घटना भएको महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिए ।
भदौमा सबैभन्दा बढी र वैशाखमा सबैभन्दा कम मोटरसाइकल दुर्घटना भएको पाइएको छ । एसएसपी ढकालका अनुसार भदौमा ८०५ र वैशाखमा १२० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
त्यस्तै उपत्यकामा मोटरसाइकलपछि कार, भ्यान र जिपको दुर्घटना दर धेरै छ । ११ महिनाको अवधिमा ६ हजार २१८ कार, भ्यान र जिप दुर्घटनामा परेका छन् । त्यस्तै दुर्घटना हुने अन्य साधनहरुमा बस २ हजार ५७, ट्रिप्पर ४४३, माइक्रो २४६, शारीरिक शक्तिबाट चल्ने (साइकललगायत) ११८, टेम्पो १११ र ट्रयाक्टर ३४ वटा छन् ।
१४५ को मृत्यु, मृत्यु हुनेमा पुरुष बढी
चालू आवको ११ महिनामा उपत्यकामा भएका सवारी दुर्घटनामा १४५ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १ सय १२ जना पुरुष छन् । सवारी साधन चलाउने पुरुषको संख्या नै बढी भएकाले दुर्घटनामा पनि पुरुषहरू बढी परेको हुनसक्ने महाशाखा प्रमुख ढकालको बुझाइ छ । त्यस्तै दुर्घटनामा २६ महिला, ६ जना बालक र एक जना बालिकाको मृत्यु भएको छ ।
विगत वर्षहरुमा पनि दुर्घटनाबाट पुरुषकै बढी मृत्यु भएको देखिन्छ । आव २०७२/७३ मा १३० पुरुष र ३६ जना महिलाको मृत्यु भएको थियो । त्यस्तै २०७३/७४ मा १२१ पुरुष र ६१ महिलाले ज्यान गुमाएका छन् । २०७४/७५ को तथ्यांकअनुसार १४७ पुरुष र ४७ महिलाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा मोटरसाइकल र स्कुटर चालक धेरै
दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर चालक छन् । तथ्यांकअनुसार मोटरसाइकल र स्कुटर चालक ७६ जनाको ११ महिनामा ज्यान गएको छ । यसबाहेक पैदलयात्रु ४७, बस दुर्घटनाबाट ६, ट्रकबाट ५, साइकलबाट ५, ट्रिप्परबाट ३ र कारबाट ३ जनाले ज्यान गुमाएका छन् ।
विगत वर्षहरूमा पनि मोटरसाइकल र स्कुटर नै बढी दुर्घटनामा परेको र ज्यान गुमाउनेमा यी सवारी साधनका चालक नै धेरै रहेको महाशाखाको तथ्यांकले देखाउँछ । आव २०७२/७३ मा मोटरसाइकल र स्कुटर सवारी चालक ७५ जना, २०७३/७४ मा ७७ र २०७४/७५ मा १११ जनाको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाइकल र स्कुटर चालकको ज्यान जानुमा ट्राफिक नियम उल्लंघन, हेलमेट प्रयोग नगर्ने, ओभर स्पिड, बाटोको अवस्था हेरेर नचलाउनेलगायतका कारण रहेको एसएसपी ढकालले बताए । ‘त्यस्तै अधिकांश मोटरसाइकल चालकले जथाभावी ओभरटेक गर्ने, सवारी साधनको कन्डिसन ख्याल नगर्ने जस्ता लापर्बाही गर्ने गरेको पाइन्छ,’ उनले भने ।
मृत्यु हुनेमा १७ देखि ३५ उमेर समूहका बढी
सवारी दुर्घटनाबाट मृत्यु हुने उमेर समूहरुमा १७ देखि ३५ वर्ष उमेर समूहका युवा धेरै छन् । चालू आवको ११ महिनामा १७ देखि ३५ वर्षका ५४ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा १६ वर्षभन्दा मुनिका ७ र ३६ वर्षभन्दा माथिका ४४ जनाको यो अवधिमा मृत्यु भएको छ । अघिल्ला वर्षको तुलनामा यो मृत्युदर कम हो । ट्राफिक महाशाखाका अनुसार कोरोनाभाइरस (कोभिड १९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण उपत्यकामा कम दुर्घटना भएको हो ।
आव २०७५/७६ मा १७ देखि ३५ वर्ष उमेर समूह १४७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १६ वर्षमुनिका १५ र ३६ वर्षमाथिका ९२ जनाको ज्यान गएको छ । दुर्घटनामा आव २०७२/७३ मा १७ देखि ३५ वर्ष समूहका ९२ जना, १६ वर्षमुनिका १२ र ३६ वर्षमाथिका ६२ जना, २०७३/७४ मा १७ देखि ३५ वर्ष उमेरका ८६, १६ वर्ष मुनिका १६ र ३६ वर्षभन्दा माथिका ८० जना, २०७४/७५ मा १७ देखि ३५ उमेरका १०३, १६ वर्षमुनिका १८ र ३६ वर्षभन्दा माथिका ७३ जनाले ज्यान गुमाएका महाशाखाले जनाएको छ ।
बर्सेनि मृत्युदर बढ्दै
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या हरेक वर्ष बढ्दै गएको छ भने यो वर्ष घटेको छ । यसको मुख्य कारण लकडाउन हो । यसबाहेक मृत्युदर कम हुनुको कारण सडक निर्माण र व्यवस्थापन पनि भएको एसएसपी ढकाल बताउँछन् । ‘हामीले ठाउँ‑ठाउँमा ट्राफिक लाइट राखेका छौँ, प्रहरी परिचालन बढाइएको छ,’ उनी भन्छन्, ‘ट्राफिक सचेतनाका कार्यक्रम गरिरहेका छौँ, यसले पनि सडक दुर्घटना कम गर्न सहयोग पुगेको छ ।’
एसएसपी ढकालका अनुसार यो वर्षमात्रै डेढ लाखभन्दा बढीलाई जनचेतनामूलक कक्षामा सहभागी गराइएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा पैदल यात्रु पनि धेरै भएका कारण यो वर्ष ‘अन द स्पोट’ पैदल यात्रुलाई २० मिनेटसम्मका सचेतनामूलक कक्षा दिइएको, जरिवाना गरिएको महाशाखाले जनाएको छ । सोही कारण पनि गएका वर्षहरुको तुलानामा यो वर्ष मृत्युदर घटेको एसएसपी ढकालको दाबी छ । उनका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले मानवीय क्षति कम भएको छ ।
पाँच वर्षको तथ्यांक नियाल्दा दुर्घटनामा हुने मृत्युदर निरन्तर बढ्दो छ । दुर्घटनाबाट आव २०७२/७३ मा १६६, ०७३/७४ मा १८२, ०७३/७४ मा १८२, ०७४/७५ मा १९४ र ०७५/७६ मा २५४ जनाको मृत्यु भएको छ ।
लकडाउनमा घट्यो सवारी दुर्घटना
लकडाउनको समयमा निकै कम मात्रमा सवारी दुर्घटना भएका छन् । लकडाउनको तीन महिनाअघि पुसदेखि फागुनसम्ममा ५ हजार ८७१ वटा सवारी दुर्घटना भएका छन् । लकडाउनको तीन महिनामा १ हजार ५०६ वटा सवारी दुर्घटना भएको तथ्यांकले देखाउँछ । लकडाउन अवधिमा सवारी साधन कम गुडेका कारण उपत्यकामा दुर्घटना कम भएको ट्राफिक महाशाखाले जनाएको छ ।
दुर्घटनको मुख्य कारण चालकको लापर्बाही : ट्राफिक
सवारी साधन दुर्घटना हुनुको मूल कारण चालकको लापर्बाही रहेको ट्राफिक महाशाखाले जनाएको छ । महाशाखा प्रमुख ढकालका अनुसार अधिकांश सवारी चालक अनुभव नभएका र सिकारु भएका कारण दुर्घटना बढिरहेको छ । त्यस्तै सार्वजनिक सवारी साधनमा ठूलो भोल्युममा गीत बजाउने, गाडीको कन्डिसन ख्याल नगर्ने, जाँडरक्सी खाएर गाडी चलाउने, कोचाकोच यात्रु राख्ने, ट्राफिक अनुशासन पालना नगर्ने जस्ता लापर्बाहीका कारण पनि सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।
चालू आवको जेठसम्ममा ८ हजार ४७२ सवारी साधन चालकको लापर्बाहीका कारण दुर्घटनामा परेका छन् । यसबाहेक तीव्र गति ४२२, मापसे ४३५, ओभरटेक ५८, यान्त्रिक गढबढी ४९, सडकको अवस्था १६, मौसम चौपाया ५ र पैदल यात्रुको लापर्बाहीले ४ वटा दुर्घटना भएका छन् ।
विगत वर्षहरूमा पनि चालकको लापर्बाहीकै कारण बढी दुर्घटना भएको ट्राफिक महाशाखाको तथ्यांकले देखाउँछ । आव ०७५/७६ मा ७ हजार ५२९ चालकको लापर्बाहीले, ५३५ तीव्र गतिले, २८३ मापसेले, ७५ ओभरटेकले, ६७ यान्त्रिक गढबढीले, २६ सडकको अवस्थाले, ३ मौसम चौपायाले र ३ वटा पैदल यात्रुको लापर्बाहीबाट दुर्घटना भएको छ ।
त्यस्तै आव ०७४/७५ मा ५ हजार ६९१ वटा दुर्घटना चालकको लापर्बाहीले भएका छन् । आव ०७३/७४ मा ५ हजार २०५ र ०७२/७३ मा ५ हजार २८१ वटा दुर्घटना चालकको लापर्बाहीबाट भएको महाशाखा प्रमुख ढकालले जानकारी दिए । चालू आवको ११ महिनामा भएका दुर्घटनामा १२ हजार १४९ सवारी साधनमा क्षति पुगेको छ ।

























