म्यानचेस्टर सिटी माथिको दुई वर्षे प्रतिबन्ध फुकुवा
वि.सं.२०७७ असार २९ सोमवार २१:३६
shares

इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षे युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने गरि लगाएको प्रतिबन्ध फिर्ता भएको छ । यूईएफएको निर्णय उल्टिएसँगै सिटीले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ ।
सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको उल्लंघन गरेको पाइएको भन्दै यूईएफएले प्रतिबन्ध लगाएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको थियो ।
सिटीले यस विषयलाई कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा (कास) अपिलको लागि पुर्याएको थियो । कासले सोमबार छानविन टुंगिएको जनाउँदै सिटीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
सिटीले सन् २०१२ देखि २०१६ को बिचमा क्लबलाई आएको प्रायोजन र लेखा परिक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप लागेको थियो । त्यसबेला सिटीले प्रायोजन गरेभन्दा बढी रकम लेखा परिक्षणमा राखेको आरोप लागेको थियो ।

























