गृहपृष्ठ कर्णालीमा अविश्वासको प्रस्तावबाट ७ सांसदको समर्थन फिर्ता, मन्त्रिमण्डल पुनर्गठनको तयारी
कर्णालीमा अविश्वासको प्रस्तावबाट ७ सांसदको समर्थन फिर्ता, मन्त्रिमण्डल पुनर्गठनको तयारी
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सात जना सांसदले समर्थन फिर्ता गरेका छन् । माधवकुमार नेपाल समूह सम्वद्ध सांसदहरु उक्त सहमतिबाट पछि हटेका हुन् ।
मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको एक सांसदले न्युज कारोबारसँग बताए ।
यो सहमतिसँगै अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले समर्थन फिर्ता लिनेछन् । नेपाल निकटका चन्द्रबहादुर शाही (मुगु), अम्बरबहादुर थापा (दैलेख), सुशील थापा (दैलेख), पद्मा खड्का (सुर्खेत), कुर्मराज शाही (कालिकोट), करविर शाही (जाजरकोट) र देवी ओली (रुकुमपश्चिम)ले अविश्वास प्रस्तावबाट आफ्नो समर्थन फिर्ता गर्ने भएका हुन् । मुख्यमन्त्री शाहीले संसदीय दलको सचेतकमा कालिकोटका कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । शाहीका अनुसार नेपाल समूहले पाउने मन्त्रीका संख्या र मन्त्रालयबारे अहिले छलफल जारी छ ।
मुख्यमन्त्री शाहीले ओलीनिकट संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई आइतबार पदमुक्त गरेका थिए । शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । शाहले मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएका थिए । तर, नेपाल समूहका सांसदहरुले समर्थन फिर्ता लिने भएपछि बैठक अलपत्र परेको छ ।
प्रकाशित समय : २०:०१ बजे



















