गृहपृष्ठ बजार अनुगमनलाई वर्षैभरि निरन्तरता दिन माग
बजार अनुगमनलाई वर्षैभरि निरन्तरता दिन माग
बजार अनुगमनलाई चाडपर्वका बेला मात्र तीव्रता दिनुभन्दा वर्षैभरि निरन्तरता दिन नेपाल उद्योग वाणिज्य महासंघले सरकारसमक्ष माग गरेको छ । अनुगमनका क्रममा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवत रूपमा अघि बढाउँदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्नसमेत महासंघको सुझाव छ ।
कोरोना महामारीको कठिन घडीमा कहींकतै कम गुणस्तरीय तथा उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुन: उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कहिल्यै र कहीँकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही हुनुहुँदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट छैन । यदि कहीँकतैबाट भएको रहेछ भने कानुनअनुसार कारबाहीको भागिदार हुनुपर्ने हुँदा प्रचलित कानुन विपरितका कार्यमा संलग्न नहुन सम्बन्धित सबैमा आग्रह गर्दै सबै सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू मार्फत मुलुकभरका उद्यमी व्यवसायीहरूमा व्यावसायिक आचारसंहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आव्हान गर्दछौं,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोभिड- १९ महामारीका कारण मुलुकवासीको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको र अर्थतन्त्रमा समेत गम्भीर असर परिरहेको महासंघले उल्लेख गरेको छ । निजी क्षेत्रले महामारीमा नेपाल सरकारलाई दरिलो साथ र सहयोग दिंदै आएको र अत्यावश्यक वस्तुहरूको आपूर्तिमा अहोरात्र खटिरहेको जनाउँदै महामारीमा मुलुकको आपूर्ति प्रणालीमा कुनै रोकावट आउन नदिन आफू र आफ्नो परिवारको समेत ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका सम्पूर्ण उद्यमी व्यवसायीहरूप्रति महासंघले आभार प्रकट गरेको छ ।
प्रकाशित समय : २१:१३ बजे


















