गृहपृष्ठ मूल्यवृद्धि ६ वर्षयताकै उच्च, मुद्रा सञ्चितिमा सुधार
मूल्यवृद्धि ६ वर्षयताकै उच्च, मुद्रा सञ्चितिमा सुधार
बजारमा महँगी उच्च दरमा बढेको छ, गत जेठमा मूल्यवृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै देखाएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्यवृद्धिदर ८.५६ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका आर्थिक वर्ष २०७२/७३ पछिको मुद्रास्फीति उच्च विन्दुमा पुगेको छ । २०७३ को भदौमा मूल्यवृद्धिदर ७.९ प्रतिशत थियो । त्यसपछि वाञ्चित सीमाभित्र रहँदै आएको मूल्यवृद्धिदर ६ वर्षपछि फेरि ८.५६ को विन्दुमा पुगेको हो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षको ११ महिनामा यस्तो मूल्यवृद्धिदर ४.१९ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । २०७८ जेठको तुलनामा यस जेठमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २२.६० प्रतिशतले बढेको छ ।
चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ । यस्तै हिमाली क्षेत्रमा मुद्रास्फीति ८.९२ प्रतिशत पुगेको छ । गत आवको समीक्षा अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.८७, ४.४७, ४.३२ र १.७३ प्रतिशत थियो ।
विदेशी मुद्राको सञ्चिति लगातार घटिरहेको समयमा जेठ महिनामा आएर सञ्चितिमा आंशिक सुधार भएको छ । शोधनान्तर घाटा केही खुम्चिएको छ । सरकारले गरेको नगद मार्जिनको व्यवस्था, विभिन्न वस्तुको आयातमा गरेको कडाइका लगायतका आयातको दर ठूलो रुपमा बढ्न नपाउँदा विदेशी मुद्रा सञ्चिति र शोधनान्तरको अवस्था केही सुध्रिएको हो । त्यसैगरी रेमिट्यानन्समा भएको वृद्धि, पर्यटन लगायतका सेवा आयमा भएको सुधारले पनि सञ्चितिको अवस्था सुधारेको देखिन्छ ।
चालु आर्थिक वर्षको ११ महिनामा मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ११ महिना(जेठ मसान्तसम्म) मा २६९ अर्ब रुपैयाँ घाटामा पुगेको छ ।
प्रकाशित समय : १३:१५ बजे


















