गृहपृष्ठ हतियार खरिदबारे सरकारसँग अर्थ समितिले माग्याे विवरण
हतियार खरिदबारे सरकारसँग अर्थ समितिले माग्याे विवरण
नेपाल प्रहरीका लागि करिब एक अर्ब रुपैयाँका हातहतियार तथा गोलीगट्ठा खरिदसम्बन्धी सम्पूर्ण कागजात पेस गर्न गृह र अर्थ मन्त्रालयलाई प्रतिनिधिसभाको अर्थ समितिले निर्देशन दिएको छ ।
समितिले सोमबार दुवै मन्त्रालयलाई पत्र पठाउँदै हतियार खरिदसम्बन्धी औचित्य, आवश्यकता, पूर्वयोजना, स्रोत व्यवस्थापन, लागत अनुमान, दरलगायतका सबै विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको हो । मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएका बेला राजनीतिक शक्ति केन्द्र र बिचौलियाको योजनामा सरकारले गुपचुप रूपमा इटालीबाट हतियार खरिद गर्न लागेको समाचार आएपछि चौतर्फी विरोध भइरहेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षका लागि हतियार खरिद गर्न बजेटको व्यवस्था थिएन । स्थानीय तहको चुनावी सुरक्षा तयारीका क्रममा हातहतियार खरिदका लागि प्रहरीले ९३ करोड ९९ लाख ७५ हजारको प्रस्ताव गृहमा पेस गर्दा अर्थले बजेट व्यवस्था गर्न कठिन रहेको जवाफ दिएको थियो ।
तर गत जेठमा बिचौलिया र शक्ति केन्द्रको स्वार्थमा इटालीको बेरेटा कम्पनीमा निर्मित ८४ करोड रुपैयाँबराबरका पिस्तोल, सटगन, रबरका गोली, अश्रुग्यास, पिस्तोलका गोली, सटगनका छर्रालगायत किन्ने योजना बन्यो । बेरेटाका नेपाल एजेन्ट दीपक भट्टमार्फत यी हातहतियार र गोलीगठ्ठा किन्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित समय : १२:५५ बजे



















