काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

567
shares

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर परिसरमा दाताले दिवङ्गत श्रीमतीको स्मृतिमा एक करोड २५ लाखको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् ।

हाल बेलायतमा रहनुभएका काठमाडौँका डा सुरेश काफ्लेद्वारा दिवङ्गत श्रीमती बिन्दु पराजुली काफ्लेको नाममा स्थापित संस्थाले निर्माण गरेको भवनको आज उद्घाटन गरिएको छ । एक सय तीन वर्षीया धनसरी पाइजा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र बिन्दुका श्रीमान सुरेशले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘बिन्दु काफ्ले फाउण्डेसन’ ले एक करोड २५ लाखमा दुईतले भवन निर्माण गरी कोषलाई हस्तान्तरण गरेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । गत २०८२ मङ्सिर महिनादेखि भवन निर्माण सुरु भएको थियो । भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवनको भुई तलामा सभाहल, पहिलो तलामा कोषको सचिवालय र दोस्रो तलामा रहेको एक वटा कोठामा भान्छाकोठा बनाइएको छ ।

कोषको कार्यालय सञ्चालन र गलेश्वर मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनलाई भवन निर्माणपछि सहज भएको अध्यक्ष रेग्मीले बताउनुभयो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर पनि छ । हिन्दू धर्मग्रन्थमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउनको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक नित्य पूजाआजा गरिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको स्थानीय बताउँछन् ।

स्व बिन्दुका परिवारको गलेश्वर मन्दिरको विकासमा महत्त्वपूर्ण योगदान रहेको छ । बिन्दुका बुवा राधाकृष्ण पराजुलीले गलेश्वर मन्दिर निर्माण र विसं २०५७ मा गलेश्वर शिवालय क्षेत्र विकास कोष स्थापना गर्नुभएको थियो । राधाकृष्णका छोरा रमेश पराजुलीले गलेश्वर मन्दिरको छानामा पित्तलको जलप लगाउने लगायतका काममा सघाएको कोषले जनाएको छ । विसं २०७३ मा बेलायतमा दिवङ्गत भएकी चिकित्सक रहेकी बिन्दुको इच्छा र स्थानीय आवश्यकताअनुसार भवन निर्माणमा सघाएको सुरेशले बताए ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षकसमेत रहेका बिन्दुका दाजु रमेश र फाउण्डेशनका कोषाध्यक्ष रमेश सुवेदीले निर्माण भएको भवन सदुपयोग हुने विश्वास व्यक्त गरे ।