काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पदमपोखरीमा व्यावसायिक मेवाखेतीबाट किसानको आम्दानी बढ्दै

273
shares

बागमती। हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका किसान व्यावसायिक मेवाखेतीमा आकर्षित भएका छन् । मेवाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका १०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध भएका छन् ।

आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाका अनुसार पदमपोखरीमा सात वर्षदेखि व्यावसायिक मेवाखेती विस्तार भइरहेको छ । हाल यहाँ करिब ३० हजार मेवाका बोटबाट उत्पादन भइरहेको छ । सुन्तलीमाया वाइबाले मात्रै ३० कठ्ठा क्षेत्रफलमा मेवाखेती गरेका छन् ।

अघिल्लो वर्ष पदमपोखरीबाट पाँच लाख किलोग्राम मेवा बिक्री भएको थियो । किसानका अनुसार उत्पादित मेवा बिक्री गर्न समस्या छैन । व्यापारी बारीमै आएर मेवा खरिद गर्ने क्रम बढेको छ ।

यहाँ उत्पादित मेवा विशेषगरी वीरगञ्ज, काठमाडौँ र पोखरालगायत सहरमा बिक्रीका लागि पुग्ने गरेको छ । पदमपोखरीको ठूलोथलीलगायत क्षेत्रमा मेवाखेती विस्तार भएको छ ।

ठूलोथलीकी किसान रञ्जुमाया घलानले आफ्नो फार्ममा ५५० बोट मेवा लगाएको छन् । उनले अघिल्लो वर्ष तीन लाखको मेवा बिक्री गरेका थिए । मेवाखेतीबाट राम्रो आम्दानीको सम्भावना देखेपछि आफू यसतर्फ आकर्षित भएको उनले बताए ।

तर, मेवाका पात कुहिने र फल झर्ने समस्या देखिन थालेको घलानले बताए । समस्या समाधानका लागि प्राविधिकको सल्लाह लिने गरिएको उनको भनाइ छ ।

मेवाखेतीसहित व्यावसायिक फलफूल तथा तरकारीखेती विस्तारमा हेटौँडा उपमहानगरपालिकाले पनि प्रोत्साहन र बजारीकरणमा सहयोग गर्दै आएको नगर प्रमुख मीना लामाले बताए । स्थानीय उत्पादनलाई किसानबाट सीधै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले दसैँअघि ‘आलीदेखि थालीसम्म’ नारासहित कृषि मेला आयोजना गरिएको थियो । मेलामा उपमहानगरभित्र उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा युवालाई स्वरोजगार बनाउने र कृषिमा आत्मनिर्भरता बढाउने योजनालाई प्राथमिकता दिइएको छ । परम्परागत खेतीसँगै आधुनिक फलफूलखेती प्रवर्द्धन गर्ने तथा कृषक समूह र सहकारीमार्फत व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।

व्यावसायिक खेती विस्तारले स्थानीय रोजगारी र अन्य व्यवसायमा समेत प्रभाव पारेको छ । पछिल्लो समय पदमपोखरी क्षेत्रमा करिब २०० अटो सञ्चालनमा रहेको स्थानीय अटोचालक दीपक लामाले बताए । कृषि उपजको ओसारपसार र स्थानीयको आवतजावत बढ्दा अटो व्यवसायलाई पनि फाइदा पुगेको उनको भनाइ छ ।