गृहपृष्ठ देउवाविरुद्ध सानेपामा प्रदर्शन
देउवाविरुद्ध सानेपामा प्रदर्शन
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता डा.शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी गरेका छन् । उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको गाडीलाई कांग्रेस कार्यालय परिसर प्रवेशमा अवरोध पुयाएपछि प्रहरीसँग धकेलाधकेलसमेत भएको छ । पार्टी अधिवेशन सकिएको ६ महिनाभित्रै सबै केन्द्रीय विभाग, केन्द्रीय कार्यसमितलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर, अहिलेसम्म सभापति देउवाले दुवै काम पूरा गरेका छैनन् ।
हालै बसेको कोइराला पक्षका नेताहरूको भेलाले सभापति देउवाले भ्रातृसंगठ गठन गर्दा स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै कार्यशैली सुधार गर्न दबाब दिने निर्णय गरेको थियो । सोही आधारमा सोमबार सानेपामा प्रदर्शन भएको हो ।
अहिलेसम्म नेविसंघ, तरूण दल, नेपाल किसान संघ र आदिवासी जनजाति संघमा अध्यक्ष मात्रै तोकिएको छ। भ्रातृसंस्थामा अध्यक्ष तोक्दा सभापति देउवाले कोइराला पक्षसँग समन्वय नगरेको आरोप लागेको छ ।
कांग्रेसले स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।
प्रकाशित समय : २१:५३ बजे



















