गृहपृष्ठ भारत–नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटी थप विस्तार, यूपीआईबाट रियल–टाइम रकम पठाउन सकिने
भारत–नेपाल डिजिटल भुक्तानी कनेक्टिभिटी थप विस्तार, यूपीआईबाट रियल–टाइम रकम पठाउन सकिने
काठमाडौं । भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप विस्तार हुने भएको छ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले दुई देशबीच निर्बाध सीमापार भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने जनाएको छ ।
एनआईपीएलका अनुसार भारतबाट नेपाल आउने यात्रुले युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) मार्फत नेपालका विभिन्न व्यवसायिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरेर तत्काल भुक्तानी गर्न सक्नेछन् । फोनपे नेटवर्कमा आबद्ध व्यवसायीले यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था छ ।
यूपीआईको पहुँच विस्तारसँगै भारतीय पर्यटकका लागि नेपालमा नगद बोक्ने वा मुद्रा साट्ने आवश्यकता कम हुने कम्पनीको दाबी छ । चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायतका पर्यटकीय तथा धार्मिक स्थलमा समेत यूपीआईमार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको एनआईपीएलले जनाएको छ ।
नेपाल आउने विदेशी पर्यटकमध्ये भारतीय पर्यटक प्रमुख स्रोत मुलुकमध्ये एक हुन् । सन् २०२५ मा २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएको तथ्यांक उद्धृत गर्दै कम्पनीले यूपीआई भुक्तानीले पर्यटन, खुद्रा व्यापार र आतिथ्य क्षेत्रमा डिजिटल कारोबार विस्तार गर्न सहयोग पुग्ने जनाएको छ ।
यसैगरी, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा यूपीआई–नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सम्बन्धमार्फत भारत र नेपालबीच रियल–टाइम ‘पर्सन–टु–पर्सन’ रकम स्थानान्तरणको सुविधा पनि उपलब्ध भएको छ । भारतीय तथा नेपाली प्रयोगकर्ताले मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरी सीमापार रकम पठाउन सक्नेछन् ।
एनआईपीएलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भारत–नेपालबीच डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न फोनपे र एनसीएचएलसँग मिलेर काम भइरहेको बताए । उनका अनुसार यसबाट भारतीय यात्रुलाई कारोबार गर्न सहज हुनुका साथै दुई देशबीच रेमिट्यान्समा निर्भर परिवारका लागि छिटो र किफायती रकम स्थानान्तरणको सुविधा पुग्नेछ ।
एनआईपीएलले आगामी दिनमा यूपीआईमा आधारित भुक्तानीको प्रयोग बढाउने, सीमापार भुक्तानीलाई थप प्रभावकारी बनाउने र पीटूपी रेमिट्यान्स प्रणालीलाई थप बैंकसम्म विस्तार गर्ने योजना अघि सारेको जनाएको छ ।
प्रकाशित समय : ०६:५८ बजे


















