गृहपृष्ठ स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा
स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा
बाजुरा । हिमालको काखमा फैलिएको हरियाली दृश्य, खुला आकाश, बादलमाथिको नयाँ संसार । चिसो हावा र आँखै अगाडि देखिने विशाल फाँटहरु । प्रकृतिले दिएको अनुपम उपहार, धर्तिको स्वर्ग अर्थात् भू–स्वर्ग । जो निकै अद्भुत छ । अकल्पनीय छ । सुन्दर,मनमोहक र बेजोड छ ।
प्रकृतिले कोरेको सुन्दर तस्विर । निकै चाखलाग्दो र आकर्षक । सात महिना हिउँको घुम्टो, पाँच महिना हरियाली र कुहिरोको घुम्टो । अनेकौं प्रजातीका फूल र जडीबुटीले मन्त्रमुग्ध बनाएको धार्मिक तथा पर्यटकीय आस्थाको धरोहर हो–बडीमालिका । जहाँ प्राकृतिक सौन्दर्यले मन र धार्मिक आस्थाले आत्मा छुने गर्छ ।
समुन्द्री सतहदेखी ४ हजार २ सय बढि मिटरको उचाई, सुन्दर र विशाल फाँटहरुको शहर । पहाड भित्र लुकेको प्रकृतिको अनौठो अर्काे संसार । प्राकृतिक सुन्दरता र नौरङ्गे साडीमा उनिएकी अप्सरा जस्तै–धार्मिक आस्था र सुन्दरतामा अडेको भूमी । धर्तिमै पनि स्वर्ग छ । साँच्चिकै स्वर्ग भनेको यहिँ हो । लाग्छ,‘स्वर्ग कहिँ छ भने यहिँ छ’।
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्ने धर्तिको भू–स्वर्ग बडीमालिका जति प्राकृतिक सुन्दरताले सुरम्य छ । त्यति नै धार्मिक आस्थाले सुपरिचित छ । जहाँ सौन्दर्यता र धार्मिक आस्था, प्रकृतिको सुन्दर काखमा लडिबुडी बाँचेको छ । सुन्दर हरियाली फाँटमा चर्दै गरेका घोडा र भेडाको बथानले त्यस वरपरको वातावरण झनै रमाइलो बन्छ।
अद्धितीय र अलौलिक गुण बोकेको बडीमालिकामा बर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन्। सिरसिरे हावा, अत्याधिक चिसो र सुन्दरताको भने कुनै कमी छैन् । बर्षातको समयमा हरियालीको चोलीमा सजिने यो ठाउँ दर्शनार्थीहरुका लागि स्वर्गतुल्य बन्छ । कुहिरोको घुम्टोमा लुकेर मुसुक्क मुस्कुराउँदै पर्यटकलाई बडीमालिका र त्यस वरपरको क्षेत्र बोलाइरहेको हुन्छ।
त्यो मुस्कानमा हाँसोको कुनै कमी देखिन्न,जसले त्यहाँ जाने पर्यटकलाई उत्साह र उमङ्ग थप्छ । बडीमालिका एक यस्तो धार्मिक तथा पर्यटकीय क्षेत्र हो,जहाँ नयाँ संसारको स्वर्गीय आनन्द र अनुभूति मिल्छ । जसले जीवनका हरेक समस्या, दुःख,कष्ट र अभावलाई भुलाएर छुट्टै शक्ति र साहस प्रदान गर्छ । त्यही हो, पहाड भित्रको नयाँ संसार, प्रकृतिको अमूल्य वरदान बडीमालिका ।
‘जहाँ पुग्दा आँखाले प्रकृतिको सौन्दर्य देख्छ, मनले शान्ति महसुस गर्छ र आत्माले आस्थाको स्पर्श पाउँछ । यहाँ पुग्ने जोकोहीलाई एकातिर प्रकृतिको अनुपम सौन्दर्यले लोभ्याउँछ भने अर्काेतिर धार्मिक आस्था र श्रद्धाले शिर झुकाउन बाध्य बनाउँछ । त्यो केवल एउटा धार्मिक तिर्थस्थल मात्र होईन्, हिमाली प्रकृतिको एउटा खुला संग्रहालय हो। जहाँ अनेकौं चिजहरु देख्न देखिन्छन् भने अनुभव र अनुभूती ग्रहण गर्न समेत पाईन्छ ।
विशेषगरी हरेक बर्षको जनैपूर्णिमाको अवसरमा लाग्ने मेला निकै महत्त्वपूर्ण मानिन्छ । देशका विभिन्न ठाउँबाट भक्तजनहरु कठिन पहाडी यात्रा पार गर्दै दर्शनको लागि पुग्ने गर्छन् । श्रद्धालु भक्तजनहरुका लागि यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई, आस्था, विश्वास र आत्मिक अनुभूतिको माध्यम समेत बन्ने गर्छ । भक्तजनहरु यहाँ पुगेर पूजा–आराधना गर्ने, मनोकांक्षा पूरा हुने विश्वास राख्ने र देवीको दर्शनबाट शक्ति र मागेको वर प्राप्त हुने विश्वास गर्छन् ।
भक्तजनको आकर्षण बढ्दो
पछिल्लो समय बडीमालिकामा भक्तजनहरुको संख्या बढ्दै गएको छ। हजारौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु बडीमालिका आइरहेका छन् । यहाँबाट देखिने विशाल हिमाली दृश्य, मनमोहक पाटन र आसपासका प्राकृतिक सम्पदाले प्रकृतिप्रेमी र साहसिक यात्राका पारखीलाई बडीमालिकाले आकर्षित गर्दै आएको छ ।
विशेषगरी जनैपूर्णिमाको अवसरमा बडीमालिका मन्दिरमा पूजा–आराधना तथा दर्शन गर्ने देशका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट ठुलो संख्यामा भक्तजन पुग्ने गरेका छन्।कठिन भौगोलिक यात्राका बिच पनि धार्मिक विश्वासका साथ भक्तजनहरु यहाँ पुग्ने गर्छन् । यहाँ पुग्ने भक्तजनले बडीमालिका माताको दर्शन पाउँछन्।
चुनावी अभियानका क्रममाः वर्तमान नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले धनगढीमा आयोजित एक कार्यक्रम बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’ भनेर सम्बोधन गरे पश्चात् झनै चर्चामा आएको हो।
त्यसयता देश तथा विदेशबाट हजारौंको संख्यामा पर्यटकहरु बडीमालिका पुगेका छन् । बालेन शाहको सानो सम्बोधनले बडीमालिका अहिले विश्वभर चर्चाको शिखरमा छ ।
प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अद्भुत मेलले बडीमालिकालाई बाजुराको मात्र नभई सुदूरपश्चिम र सिंगो देशकै पर्यटकीय र धार्मिक गन्तव्यको रुपमा स्थापित गर्न महत्त्वपूर्ण सहयोग पुर्याएको छ । करिब दुई तीन बर्षको आफ्नो ‘बडीमालिका यात्रा’ योजनालाई सफल बनाउन बडीमालिकाको दर्शनमा आएको काठमाडौँका दर्शनार्थी निरञ्जन शिलवाल बताउँछन् ।
उनी भन्छन्,‘ मनसुनको समयमा समेत यात्रा त्यति कठिन छैन् । नयाँ ठाउँ, नयाँ गन्तव्य, सुदूरको स्वर्गमा आउँदा निकै खुसी लागेको छ । दुई तीन बर्षको बडीमालिका घुम्ने योजना यो बर्ष पूरा गर्नेगरि यात्रामा निस्किएका हौँ। धार्मिक तथा पर्यटकीय क्षेत्रसंग सामिप्यता र मनका अनगिन्ती रहरहरु मेटिने छन्,भन्नेमा विश्वस्त छु । बडीमालिका माताले सबैले कल्याण गरुन् । जय बडीमालिका।’
प्रकृति मुस्कुराउँछ, आस्था झल्किन्छ
दुगर्म भौगोलिक अवस्था, कठिन पदमार्ग र मौसममा हुने अचानक परिवर्तनले यात्रा निकै कष्टकर बन्ने गर्छ । यहाँको पर्यटकीय सम्भावना र धार्मिक आस्थाले मन्त्रमुग्ध बनाएपछि बडीमालिका दर्शनको यात्रा तय गरेको चितवनका दर्शनार्थी जयराम अधिकारी बताउँछन् ।
स्वर्गतूल्य बडीमालिकाको पावन भूमिमा पाइला टेक्न पाउँनु नै गर्वको कुरा रहेको उनको भनाई छ । स्थानीय सरकारले आवश्यक भौतिक पूर्वाधार निर्माण र सडक सञ्जालमा ध्यान दिएको खण्डमा पर्यटकको संख्या बढ्न सक्ने जोड दिए । नेपाल सरकारले सन् २०२३ देखि २०३३ को अवधिलाई पर्यटन दशक मनाउने घोषणा गरेको छ । जसमा बाजुराको बडिमालिका क्षेत्र मात्रै समेटिएको छ।
बडीमालिकामा पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी टोली बाजुरा पुगेर बाजागाजासहित बडीमालिका लैजाने प्रचलन रहिआएको छ । नेपाली सेनाले यहाँ प्राचिन स्मारक २०१३ अनुसार,पुरातत्व विभागको डिजाइनमा कलात्मक मन्दिर निर्माण समेत गरेको छ ।
यहाँ नेपाली सेनाले करिब दुई करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर निर्माण गरेको छ । यो मन्दिर निर्माणका लागी सेनाले भुटानको राजदरबार निर्माणमा संलग्न अनुभवी कालिगढ झिकाएको थियो।
बडीमालिका माताको दर्शनले मागेको वर प्राप्त हुने,मनको मनोकांक्षा पूरा हुनुका साथै सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।
कसरी पुग्न सकिन्छ ?
यातायात र अन्य सुविधाको अभावका कारण बडिमालिका यात्रा गर्न निकै असजिलो छ । सोता पाटनसम्म सडक भएपनि बर्षातको समयमा गाडी चल्न भने असम्भव छ । धनगढीबाट अछामको साँफेबगर हुँदै जिल्लाको सदरमुकाम मार्तडी सम्म गाडीको सुविधा छ । त्यहाँबाट पैदलयात्रामार्फत बडिमालिका पुग्न सकिन्छ ।
पैदल यात्रा नगरेर हवाईजहाजबाट जाने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टीमा पुग्न सकिन्छ । कोल्टीबाट जिल्ला सदरमुकाम मार्तडी अर्थात् पोरखेगढीबाट करिब तीन दिनको पैदल यात्रापछि पुगिन्छ ।
समुन्द्री सतहबाट करिब ४ हजार २ सय मिटरको उचाईमा रहेकाले अत्याधिक चिसो हुने गर्छ । अहिले ठाउँठाउँमा बास बस्नको लागि सुविधा भने पर्याप्त छ ।
स्लिपिङ ब्याग, पञ्जा, बाक्ला लुगाहरु र ड्राईफुडसहितको भारी बोकेर हिड्नुपर्ने बाध्यता छ। पर्यटकीय गन्तव्यहरुको धनी सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृतिको धनी पर्यटकीय गन्तव्यको खोजी गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरु बडिमालिका पुग्ने गरेका छन् ।
प्रवद्र्धनको अवस्था
बडीमालिका क्षेत्रको पर्यटन, प्रबद्र्धन, संरक्षण तथा सम्बद्र्धन गर्न बाजुराका नौं वटै स्थानीय तहले आ–आफ्नो तहबाट पर्यटन, प्रबद्र्धन सम्बन्धी काम गर्दै आएको भए पनि त्यो पर्याप्त छैन् । भौगोलिक विकटता, यातायातको असुविधा, भौतिक पूर्वाधारको कमी यहाँका महत्त्वपूर्ण समस्या हुन् ।
सरकारले बडिमालिका क्षेत्रलाई सुरु देखि नै संरक्षित क्षेत्र बनाउने नीति लिएपनि अझै कार्यान्वयनमा भने आउन सकेको छैन्। तीर्थालुको संख्या बढ्दै गएसँगै बडीमालिका क्षेत्रमा सडक, पदमार्ग, खानेपानी, शौचालय सञ्चार, स्वास्थ्य तथा आवासलगायतका पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।
व्यवस्थित पर्यटन पूर्वाधार निर्माण गर्न सकेको खण्डमा बडीमालिका धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा थप स्थापित हुने स्थानीय तथा पर्यटक (गाईड) तुला बडुवालको भनाई छ।
सरकारले ईन्टरनेट सेवा विस्तारको लागि काम थालेको छ । यसअघि संञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
अन्य पूर्वाधारका हिसाबमा सदियौँपछि मन्दिर संरचना नयाँ बनेका छन् । विस्तारै बडीमालिका यात्रा सुरक्षित र मर्यादित हुने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।
उनका अनुसार,मेला सुरक्षित र व्यवस्थित गर्न सुरक्षा संयन्त्र परिचालन,मेला व्यवस्थापन,सरसफाई,विरामीहरुलाई औंषधी उपचार,अस्थायी शौचालय र खानेपानी जस्ता आधारभूत आवश्यकता परिपूर्ति गरिने बताए ।
साथै उनले स्वास्थ्यमा समस्या भएका व्यक्तिहरुले दर्शनको लागि नआई दिन हुन समेत उनले आग्रह गरे । त्यस्तै जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले यस बर्षको मेलालाई व्यवस्थित गर्न जिल्लास्थित सरोकारवाला निकायबाट विभिन्न निर्णयहरु गरिएको जानकारी दिए।
धार्मिक आस्थाको धरोहर बडीमालिकाको पर्यटन, प्रबद्र्धनमा जिल्लास्तरबाट पटकपटक संघ तथा प्रदेश सरकारलाई यहाँको सम्भावना र समस्याहरुबारे ध्यानाकर्षण गराईँदै आएको बताए ।
साथै उनले पछिल्लो समय बडीमालिकामा पर्यटकको संख्या बढ्दै जानुको कारण प्रधानमन्त्री बालेन्द्र शाहले दिएको ‘बडीमालिकाको बाउ’ संज्ञाले थप पर्यटकको आँखा खुलेको जिकिर गरे।
समन्वय प्रमुख रोकायाले बडीमालिका दर्शनले मागेको वर प्राप्त हुने,मनोकांक्षा पूरा हुने र आत्मसन्तृष्टि मिल्ने भएकोले सम्पूर्ण दर्शनार्थीहरुलाई दर्शन गर्नको लागी आग्रह समेत गरे।
सुन्दर फाँटहरुको शहर
बडीमालिकालाई फाँटैफाँटको शहर भन्दा पनि फरक पर्दैन् । यहाँ २२ वटा समथर हरिया पाटनहरु छन् । मनमोहक त्रिवेणी क्षेत्र, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णुपानी, खेतीवेती,लौरी विनायक, धर्मद्वार,बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन्। प्राकृतिक सौन्दर्यता भरिपूर्ण यी फाँटहरुनै यहाँका मुख्य आकर्षक हुन्।
धार्मिक आस्थाको धरोहर बडीमालिकामा पुग्ने प्रकृतिलाई नजिकबाट नियाल्नु मात्र नभई,आस्थालाई अनुभूति गर्ने माध्यम समेत हो। जहाँ पहाडको उचाईसंगै विश्वासको गहिराई भेटिन्छ । प्रकृतिको सौन्दर्यसंग आध्यात्मिक शान्तिको अनुभूत हुन्छ । त्यसैले बडीमालिका धर्तीकोे स्वर्गजस्तैःसौन्दर्यभित्र लुकेको धार्मिक आस्था र सुन्दर फाँटहरुको शहर हो ।
प्रकाशित समय : ०९:३४ बजे


















