यस वर्ष नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
वि.सं.२०८३ कात्तिक ३० सोमवार १५:५२
shares

सारांश
- यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ ।
- देवीदेवताको स्वरूपमा मुकुण्डो धारण गरेका देवगण नगर तथा विभिन्न बस्तीमा पुगेर नाच तथा जात्रा प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।
- प्रत्येक वर्ष दसैँमा राष्ट्रपति दर्शन गर्न आउने भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) हो ।
भक्तपुर । यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ ।
तालिकाअनुसार आगामी मङ्रसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरी यस वर्षको जात्रा सुरु हुनेछ । जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले मङ्सिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौँ र काभ्रेका विभिन्न स्थानमा जात्रा सञ्चालन हुने जानकारी दिए ।
पुस ९ गते मध्यपुरथिमिको दिगुटोलमा देवगणको आगमन हुनेछ भने पुस १० देखि १५ गतेसम्म मध्यपुरथिमिका विभिन्न स्थानमा जात्रा सञ्चालन हुनेछ । त्यसैगरी, पुस १७ देखि २१ गतेसम्म काठमाडौँको टोखा, गोकर्ण र चपली क्षेत्रमा जात्रा हुनेछ । नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल वनमालाले पुस ३० गतेदेखि माघ ६ गतेसम्म भक्तपुरको सूर्यमढी, दत्तात्रय, क्वाठण्डौँ र गछें क्षेत्रमा जात्रा सञ्चालन हुने बताए ।
माघ १५ देखि १८ गतेसम्म काठमाडौँको साँखु, माघ १९ र २० गते चाँगुनारायण तथा माघ २८ र २९ गते भक्तपुर नगरपालिका–६ स्थित महालक्ष्मी क्षेत्रमा जात्रा हुने तालिकामा उल्लेख छ । त्यस्तै फागुन महिनामा भक्तपुरका विभिन्न स्थानसँगै काभ्रेको साँगा र नालामा समेत जात्रा सञ्चालन हुनेछ । फागुन ६ र ७ गते साँगा तथा फागुन २८ देखि ३० गतेसम्म नाला क्षेत्रमा जात्रा हुनेछ ।
चैत १ र २ गते धुलिखेल तथा चैत ३ गते काभ्रेको श्रीखण्डपुरमा जात्रा सञ्चालन हुनेछ । यसैगरी चैत २५ र २६ गते भक्तपुरको बालाखु क्षेत्रमा जात्रा सञ्चालन भएसँगै यस वर्षको सार्वजनिक जात्रा तालिका सम्पन्न हुनेछ । नवदुर्गा देवगणको जात्रा भक्तपुरको जीवन्त सांस्कृतिक एवं ऐतिहासिक सम्पदाका रूपमा परिचित छ । विभिन्न देवीदेवताको स्वरूपमा मुकुण्डो धारण गरेका देवगण नगर तथा विभिन्न बस्तीमा पुगेर नाच तथा जात्रा प्रदर्शन गर्ने परम्परा रहिआएको छ । प्रत्येक वर्ष दसैँमा राष्ट्रपति दर्शन गर्न आउने भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) हो ।

























