अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल
वि.सं.२०८३ कात्तिक ३० सोमवार १५:४१
shares

काठमाडौं । पाकिस्तानले अमेरिका र इरानबिचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ। विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग सङ्गठन (इको) को बैठकमा शान्ति र स्थिरताबिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताए।
१० सदस्यीय इको बैठकमा इरानी विदेशमन्त्री अब्बास अराघचीसहित विभिन्न देशका कूटनीतिज्ञ सहभागी थिए। अराघचीले अन्तर्राष्ट्रिय कानून र शान्तिपूर्ण समाधानको पक्षमा उभिन आग्रह गर्दै अमेरिकामाथि आक्रामकता र आर्थिक दबाब सिर्जना गरेको आरोप लगाए । उनले फारसको खाडी र हर्मुज जलघाँटीको तनावका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्याए। पाकिस्तानले गत अप्रिलमा अमेरिका र इरानबिच प्रत्यक्ष वार्ताको पहिलो चरण आयोजना गरेको थियो। हर्मुज जलघाँटीको गतिरोधले तेलको मूल्य र आफ्नो अर्थतन्त्रमा असर पारेको भन्दै पाकिस्तानले उक्त जलमार्ग पुनः सञ्चालन गर्न आग्रह गर्दै आएको छ।
बैठकमा अफगानिस्तानसँगको सम्बन्ध सुधारको विषय पनि उठेको थियो। विदेशमन्त्री दारले अफगानिस्तानसँग व्यापार तथा पारवहन सहकार्य विस्तार गर्न चाहेको बताउँदै त्यसका लागि तालिबान सरकारले छिमेकी मुलुकका सुरक्षा चासो र आतङ्कवादको खतरा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
पाकिस्तानले टिटिपी, बीएलए र अलकायदालाई आश्रय दिएको अफगान तालिबान सरकारमाथि आरोप लगाउँदै आएको छ। काबुलले भने आतङ्कवादी समूहलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ।

























