global ime bank Long Banner Ad

गृहपृष्ठ क्यानडासँग नेपाल ८३ रनले पराजित

क्यानडासँग नेपाल ८३ रनले पराजित

क्यानडासँग नेपाल ८३ रनले पराजित

खराब ब्याटिङ प्रदर्शन गरेको नेपाल बुधबार राति क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ८३ रनले पराजित भएको छ । किङ सिटी क्रिकेट मैदानमा बुधबार राति टस हारेर ब्याटिङका लागि निम्त्याइएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । १८९ रनको लक्ष्य पछ्याएको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि देव खनालले सबैभन्दा धेरै २६ रन बनाए । ओपनर पवन सर्राफले १४ रन बनाउँदा विकेटकिपर विनोद भण्डारी, बसिर अहमद र आदील आलमले समान १३ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल एक रनमा आउट हुँदा उपकप्तान रोहितकुमार पौडेल ६ रन बनाएर पवेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले रनको खाता खोल्न सकेनन् ।

कप्तान सन्दीप लामिछाने ११ रनमा आउट हुँदा करण केसी ५ रनमा अविजित रहे । क्यानडाका अमर खालिद, सलमान नजर, रोमेल साहजाद, साद जफर र हर्ष थाकरले समान दुई विकेट लिए । त्यसअघि श्रेयस मोब्बा र अमर खालिदले दशौं विकेटका लागि ७० रनको साझेदारी गरेपछि क्यानडाले ९ विकेट गुमाएर १८८ रनको योगफल जोड्न सफल भएको थियो । श्रेयस मोब्बा ५० र खालिद ३० रनमा अविजित रहे । त्यसअघि आरोन जोनसनले ५५ बलमा ४४ रन बनाएका थिए । उदयवीर सिंहले १६ र अखिल कुमारले १२ रन जोडे ।

नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । दीपेन्द्रसिंहले २ विकेट लिँदा बसिर अहमद, किशोर महतो, करण केसी र आदील आलमको नाममा १/१ विकेट रह्यो । नेपाल दुई खेलको एकदिवसीय शृंखला खेल्न क्यानडा गएको थियो ।

पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । त्यसअघि नेपालले त्यहाँको स्थानीय टिमसँग एकदिवसीय र ट्वान्टी-२० अभ्यास खेल खेलेको थियो । अब नेपाल त्यतैबाट आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्नका लागि स्कटल्यान्ड जानेछ । जहाँ नेपालले स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिदेशीय शृंखला खेल्नेछ । त्यसकै तयारीका लागि नेपाल क्यानडा गएको हो ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु