global ime bank Long Banner Ad

गृहपृष्ठ दिगो कृषि र हरित प्रविधिमा जापानी लगानी, नेपालमा ८० करोडभन्दा बढीको प्रारम्भिक योजना

दिगो कृषि र हरित प्रविधिमा जापानी लगानी, नेपालमा ८० करोडभन्दा बढीको प्रारम्भिक योजना

दिगो कृषि र हरित प्रविधिमा जापानी लगानी, नेपालमा ८० करोडभन्दा बढीको प्रारम्भिक योजना

काठमाडौं — दिगो कृषि, जल शुद्धीकरण, ऊर्जा बचत र फोहोर व्यवस्थापनका क्षेत्रमा जापानी प्रविधि भित्र्याउने पहलस्वरूप विभिन्न जापानी कम्पनीले नेपालमा ८० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका छन्।

सन्दिपानी ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आइतबार काठमाडौंमा आयोजना गरेको ‘जापान टु नेपाल : इनोभेट, इन्टिग्रेट एन्ड इन्सपायर’ कार्यक्रममा हरित प्रविधिमा आधारित लगानी योजनाबारे जानकारी दिइएको हो। आयोजकका अनुसार यी परियोजनाले कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण र ऊर्जा दक्षता अभिवृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले नेपाल–जापानबीच प्रविधिमा आधारित सहकार्य विस्तारले कृषि आधुनिकीकरण, वातावरण संरक्षण र दिगो आर्थिक विकासमा नयाँ अवसर सिर्जना गर्ने बताउनुभयो। निजी क्षेत्रबीचको साझेदारीलाई लगानी, रोजगारी र नवप्रवर्तनसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सन्दिपानी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नरेशचन्द्र ओझाले नेपाल–जापान सहकार्य व्यापारिक सम्बन्धमा मात्र सीमित नरही दीर्घकालीन विकासको आधार बन्न सक्ने बताउनुभयो। यस्ता साझेदारीबाट नयाँ व्यवसाय, रोजगारी र आर्थिक अवसर विस्तार हुने उहाँको भनाइ थियो।

कार्यक्रममा जापानी कम्पनीहरूले आफ्ना प्रविधिको प्रदर्शनसमेत गरेका थिए। ट्रिम कम्पनी लिमिटेडले पुनःप्रशोधित सिसाबाट उत्पादन हुने ‘सुपर सोल’ सामग्री कृषि, बागवानी, जल शुद्धीकरण र हरित पूर्वाधारमा प्रयोग गर्न सकिने जनाएको छ। कम्पनीका अध्यक्ष त्सुबोई इवाओले यसले फोहोरलाई उपयोगी स्रोतमा रूपान्तरण गर्न सक्ने बताउनुभयो।

डाएएई कम्पनी लिमिटेडले पानीमा उच्च मात्रामा अक्सिजन घोल्ने ‘अक्सिजन फिल्टर’ प्रविधि सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष मोरिता मिचिओका अनुसार यो प्रविधि नदी, ताल, मत्स्यपालन, कृषि तथा फोहोर पानी प्रशोधनमा उपयोगी हुनेछ।

कोदु जापान कम्पनी लिमिटेडले ऊर्जा बचत गर्ने ‘सुपर एलईडी’ प्रविधि नेपालमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीका अध्यक्ष कोशाकाइ तोशियाकीले बजारमा उपलब्ध सस्तो एलईडीकै मूल्यमा जापानी गुणस्तरका एलईडी उपलब्ध गराउने र तीन वर्षभित्र देशभर विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।

मितोमी कम्पनी लिमिटेडले न्यून पानी प्रयोग हुने दिगो चर्पी प्रणाली प्रस्तुत गर्दै सरसफाइ सुधार र वातावरणमैत्री फोहोर व्यवस्थापनमा यसको उपयोगिता औँल्याएको छ।

आयोजकका अनुसार प्रस्तावित परियोजनाअन्तर्गत सुपर सोलमा करिब ५० करोड रुपैयाँ, सुपर एलईडीमा २५ करोड रुपैयाँ, अक्सिजन फिल्टरमा १५ करोड रुपैयाँ, सस्टेनेबल ट्वाइलेटमा १० करोड रुपैयाँ तथा मिजुकी हाई वाटर प्रविधिमा ५ करोड रुपैयाँसम्म लगानीको सम्भावना रहेको छ।

प्रकाशित समय : ०६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु