गृहपृष्ठ आज देशभर बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको चेतावनी
आज देशभर बदली, अधिकांश स्थानमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदली रही मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि सक्रिय रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, बागमती प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने अनुमान छ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
विभागका अनुसार हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी र मधेशका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि हिमाली र पहाडी भूभाग तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा बदली रहनेछ। पहाडी भूभागका केही स्थान र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका जोखिमयुक्त क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। सम्भावित वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागको पछिल्लो मौसम सूचनालाई नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।
प्रकाशित समय : ०६:१० बजे



















