global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरामा छ महानगरका प्रमुख र प्रशासकीय अधिकृतको भेला हुने

पोखरामा छ महानगरका प्रमुख र प्रशासकीय अधिकृतको भेला हुने

पोखरामा छ महानगरका प्रमुख र प्रशासकीय अधिकृतको भेला हुने

देशका छवटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ ।

भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान-प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । उनले भने, 'हामीले साउनको पहिलो हप्ता पोखरामा भेला आयोजना गरेका छौँ । सबै आउने निश्चित भइसकेको छ ।' भेलाले महानगरबीच अनुभव आदान-प्रदानमा सहयोग पुग्ने र विकास निर्माणलगायत संघ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले बताए ।

यसैबीच पोखरा महानगरका प्रमुख आचार्य र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिका कार्यालयमा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा बजेट निर्माण, राजस्व संकलन तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ । प्रमुख आचार्यले मंगलबार नै काठमाडौंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग पनि भेटवार्ता गरेका छन् ।

आविष्कार केन्द्रमा आविष्कार भएका सामग्री पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । 'आविष्कार केन्द्रका अध्यक्ष पुनसँगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौँ । महानगरको हित हुने उपकरणको विषयमा जानकारी मागेका छौँ । उहाँले रचनात्मक सुझाव दिनुभएको छ', प्रमुख आचार्यले भने ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु