बौद्धमा २४ बर्षीया युवतीलाई होटलमा लिई जबरजस्ती करणी गर्ने चार पक्राउ
वि.सं.२०७९ जेठ ३१ मंगलवार १६:५७
shares

जबर्जस्ती करणीमा संलग्न चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरेकाे भन्दै काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताए ।
प्रहरीले पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























