गृहपृष्ठ बौद्धमा २४ बर्षीया युवतीलाई होटलमा लिई जबरजस्ती करणी गर्ने चार पक्राउ
बौद्धमा २४ बर्षीया युवतीलाई होटलमा लिई जबरजस्ती करणी गर्ने चार पक्राउ
जबर्जस्ती करणीमा संलग्न चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरेकाे भन्दै काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होेटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले पीडित युवतीलाई होटलबाट उद्धार गरी प्रसूतिगृह थापाथली लगेर स्वास्थ्य परीक्षण गरेको प्रवक्ता मैनालीले बताए ।
प्रहरीले पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को करणीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १६:५७ बजे



















