एमालेको अवरोधपछि संसद बैठक स्थगित
वि.सं.२०७९ जेठ १३ शुक्रवार १७:४६
shares

सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको प्रतिनिधि सभाको शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले गरेको टिप्पणीमाथि एमालेले आपत्ति जनाएपछि विवाद सुरु भएको थियो ।
ओलीले आयल निगम निजीकरण गर्न लागिएको र कमिसनको खेल भएको भनी गरेको टिप्पणीमा जवाफ दिने क्रममा मन्त्री बडूले 'साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्ने' र आफू कमिसनमै रहँदा सत्ता गुमाएको भनी टिप्पणी गरेपछि एमाले नेताहरुले नियमापत्ति जनाएका थिए । उनीहरुले प्रमुख प्रतिपक्षी दलका नेतामाथि भएको टिप्पणी संसद्को रेकर्डबाट मेटाउन माग गरेका थिए । सुरुमा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका थिए भने पछि प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

























