गृहपृष्ठ ठोरी गाउँपालिकाकाे अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ विजयी
ठोरी गाउँपालिकाकाे अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ विजयी
पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ ४ हजार ४९ मतका साथ विजयी भएका छन् । २०७४ सालमा यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेकाे थियाे ।
उनी निकटतम प्रतिद्वन्द्वीसित ७ सय २० मतअन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्षसमेत रहेका नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ ३ हजार ३२९ मत प्राप्त गरे ।
गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै गोकुलीकुमारी रेग्मी ४ हजार २५९ मत ल्याई विजयी भइन् । उनी निकटतम प्रतिद्वन्द्वीसित एक हजार २१६ मत अन्तरले विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निरु तामाङले ३ हजार ४३ मत प्राप्त गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो ।
पाँच वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा एमालेले जित हासिल गरेको छ भने वडा नम्बर २ मा कांग्रेस र ५ मा माओवादी केन्द्रले बाजी मारेको छ । वडा नम्बर १ को अध्यक्षमा एमालेका धनमान थापा मगर ६५१ मत ल्याएर निर्वाचित भएका छन् । वडा नम्बर २ मा कांग्रेसका अमृतकृष्ण सापकोटा ६२३ मत ल्याएर वडाध्यक्ष जितेका छन् । वडा नम्बर ३ मा एमालेका शम्भु खड्का ९०८ मतका साथ वडाध्यक्षमा विजयी भएका छन् ।
वडा नम्बर ४ को वडाध्यक्षमा मानबहादुर थिङ १ हजार १२१ मत ल्याई वडाध्यक्षमा जित हासिल गरेका छन् । वडा नम्बर ५ को अध्यक्षमा भने नेकपा माओवादी केन्द्रका अष्टबहादुर लोप्चन ८ सय ३५ मतका साथ निर्वाचित भएका छन् ।
प्रकाशित समय : ०२:३४ बजे



















