गृहपृष्ठ श्रीलंकामा पुन: संकटकाल लगाउने निर्णयको अमेरिका र युरोपेली संघद्वारा आलोचना
श्रीलंकामा पुन: संकटकाल लगाउने निर्णयको अमेरिका र युरोपेली संघद्वारा आलोचना
श्रीलंकामा पुन: संकटकाल लगाइएपछि राष्ट्रपति गोटबाय राजपाक्षको निर्णयको शक्ति राष्ट्रहरूले आलोचना गरेका छन् । अमेरिका र युरोपेली संघले सरकारविरुद्ध भइरहेका प्रदर्शनका माझ दोस्रो पटक संकटकाल लगाउने राष्ट्रपतिको कदमको आलोचना गरेका हुन् ।
राजधानी कोलम्बोस्थित अमेरिकी राजदूत जुली चुङले मानिसहरूको आवाज सरकारले सुन्नुपर्ने बताए । श्रीलंकालीहरूले बेहोरिरहेको वास्तविक चुनौतीहरूसँग जुझ्न र देशमा सबैका लागि समृद्धि र अवसर रहने बाटोमा फर्काउन दीर्घकालीन समाधानको आवश्यकता पर्ने उनको भनाइ छ । यस्तै युरोपेली संघले संकटकालले श्रीलंकाका अप्ठेराहरू हल गर्न मद्दत नगर्ने भन्दै त्यो प्रत्युत्पादक हुनसक्ने चेतावनी दिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को एउटा विशेष बैठकपछि संकटकाल लगाउने निर्णय गरेको थियो । राष्ट्रपति राजपाक्षको कार्यालयले सार्वजनिक सुरक्षालाई मध्यनजर राख्दै संकटकाल लगाइएको जनाएको छ । यसअघि पनि श्रीलंकाका राष्ट्रपतिले गत अप्रिल २ मा संकटकाल लगाएका थिए । विदेशी मुद्रा सञ्चितमा गम्भीर संकट बेहोरिरहेको श्रीलंकाले खाद्यान्न, इन्धन र औषधि आयात गर्न गम्भीर समस्या भोगिरहेको छ ।
प्रकाशित समय : १३:३५ बजे



















