काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मध्य स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

756
shares

मध्य स्पेनमा बुधबार एउटा तीव्र गतिको रेल रोकिएको अर्को रेलको पछाडिको भागमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा रेलका दुई डिब्बा लिकबाट बाहिरिएका छन् ।
स्पेनी अधिकारीले सुरुमा १० जनाको मृत्यु भएको बताएका थिए । तर सरकारी समाचार संस्था ईएफई लगायतका सञ्चारमाध्यमले पछि मृतकको सङ्ख्या बढेर कम्तीमा ३० पुगेको जनाएका छन् ।

रेल सञ्जाल सञ्चालक संस्था एडीआईएफका अनुसार, दुर्घटना बुधबार बिहान टोलेडो प्रान्तमा भएको हो । घटनापछि म्याड्रिड, सिउदाद रियल र आन्डालुसियाबीचको रेल सेवा स्थगित गरिएको छ ।

कास्टिला–ला मान्चा क्षेत्रकी प्रवक्ता एस्थर पाडिलाले सरकारी प्रसारण संस्था टीभीईलाई बताएअनुसार, राजधानी म्याड्रिडबाट दक्षिणपश्चिमी सहर सेभिलतर्फ गइरहेका दुई रेलबीच दुर्घटना भएको हो । रोकिएको रेलको पछाडिको भागमा अर्को रेल ठोक्किँदा दुई डिब्बा लिकबाट बाहिरिएका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

उर्दा र लस येबेनेस सहरबीच खेतबारीले घेरिएको समथर क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा एउटा रेलको डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने त्यसका धातुका टुक्रा र अन्य सामग्री घटनास्थलमा छरिएका छन् ।

 

स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले टीभीईलाई बताएअनुसार, उद्धारकर्मीहरू सबैभन्दा बढी क्षति पुगेका दुई डिब्बामा फसेका यात्रुको उद्धार र शव निकाल्न केन्द्रित छन् । घाइतेहरूलाई आसपासका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए ।
“ठक्कर निकै तीव्र थियो । त्यसैले यो ठूलो त्रासदी हुने अनुमान गरेका छौँ,” गार्सियाले भने ।

स्पेनी सञ्चारमाध्यमका अनुसार, दुर्घटनामा सरकारी रेल कम्पनी रेनफे र निजी रेल सङ्लग्न थिए । प्रारम्भिक विवरणअनुसार, रेनफेको रेलले इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो । यसअघि जनवरीमा पनि यी दुई कम्पनीका रेल सङ्लग्न घातक दुर्घटना भएको थियो ।
पाडिलाका अनुसार, रेनफेको रेलमा ३९७ र इरियोको रेलमा १४७ यात्रु सवार थिए ।

इटालेली स्वामित्वको इरियोले विज्ञप्ति जारी गर्दै आफ्ना सुरक्षा प्रोटोकल सक्रिय पारेको र सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।
नजिकैको उर्दा सहरका मेयर म्यानुएल गालानले टीभीईलाई बताएअनुसार, नागरिक सुरक्षा अधिकारीहरूले घाइते यात्रुको हेरचाहका लागि स्थानीय खेलकुद भवन तयार पार्न नगरपालिकालाई आग्रह गरेका थिए । उद्धार कार्यमा आपत्कालीन सेवा, दमकल र प्रहरीलाई सहयोग गर्न सैन्य आपत्कालीन टोलीसमेत परिचालन गरिएको थियो ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनापछि आफ्नो पूर्वनिर्धारित कार्यक्रम रद्द गर्नुभएको छ । उनले सामाजिक सञ्जाल एक्समा टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाबाट आफू स्तब्ध भएको बताएको छन् ।
“आपत्कालीन सेवाहरू घटनास्थलमा यात्रुको उद्धार र उपचारमा खटिएका छन् । मृतकका परिवार र आफन्तप्रति मेरो गहिरो समवेदना छ,” उनले लेखेका छन् ।

कास्टिला–ला मान्चा क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजले आफू दुर्घटनास्थलतर्फ जाँदै गरेको सामाजिक सञ्जालमार्फत बताएको छन् ।
यसअघि जनवरीमा दक्षिणी स्पेनमा एउटा रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको मृत्यु भएको थियो । सन् २०१३ मा ८० जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि त्यो घटना स्पेनको सबैभन्दा घातक रेल दुर्घटना बनेको थियो । जनवरीको दुर्घटनाले देशको व्यापक उच्च गतिको रेल सेवाप्रतिको विश्वासमा समेत धक्का पु¥याएको थियो
उच्च गतिको रेल सञ्जालमा स्पेन अग्रणी
स्पेन उच्च गतिको रेल सेवामा विश्वका अग्रणी देशमध्ये एक हो । देशले पछिल्ला दशकमा यस क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । स्पेनी रेलवे युनियनका अनुसार, उच्च गतिको रेल भन्नाले प्रतिघण्टा २५० किलोमिटर वा सोभन्दा बढी गतिमा चल्ने रेलका लागि निर्माण गरिएको ट्र्याकमा सञ्चालन हुने रेललाई बुझिन्छ ।

करिब चार करोड ९० लाख जनसङ्ख्या भएको स्पेनमा तीन दशकभन्दा बढी समय लगाएर करिब तीन हजार ९०० किलोमिटर उच्च गतिको रेलमार्ग निर्माण गरिएको छ । इन्टरनेसनल युनियन अफ रेलवेजका अनुसार, एक अर्ब ४० करोड जनसङ्ख्या भएको चीनमा करिब ४५ हजार किलोमिटर उच्च गतिको रेलमार्ग छ । चीनपछि स्पेनसँग विश्वकै सबैभन्दा विस्तृत उच्च गतिको रेल सञ्जालमध्ये एक रहेको छ ।
स्पेनले पछिल्लो समय आफ्नो रेल सञ्जाल निजी कम्पनीका लागि पनि खुला गरेको छ । यससँगै निजी कम्पनीहरूले सरकारी रेल सेवा प्रदायक रेनफेसँग प्रतिस्पर्धा गर्न थालेका छन् । इरियोले सन् २०२२ मा स्पेनमा रेल सेवा सञ्चालन सुरु गरेको थियो ।