आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०७९ वैशाख ११ आइतवार १८:४६
shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औँ बार्षिक साधारण सभा सम्पन्न शुक्रबार सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण सेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारमा नयाँ सेवा स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।
सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशतभन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको उल्लेख गरे । अर्थतन्त्रका महत्वपूर्ण सूचक ऋणात्मक रहेको अवस्था र रेमिट्यान्स आप्रवाह घट्दो छ तथा लगानीयोग्य पुँजीको अभाव चरम रहेको जानकारी गराए ।
सभामा अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बिमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका-३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तलाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको व्यहोरा सहर्ष जानकारी गराए ।
कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पूँजी २.५० अर्ब पुर्याउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशनबमोजिम पूँजी योजना बिमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिँदै हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको हुनाले उल्लेखित बोनस सेयर जारी भएपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने जानकारी गराए । सभासमक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनिका साथ स्वीकृत गरेकोमा सबै सेयरधनीलाई उनले धन्यवाद व्यक्त गरे ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ बार्षिक साधारण सभामा सम्पूर्ण सेयरधनीलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीको टिमको सहयोगबाट आज बिमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भइरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने उनले प्रतिवद्धता जनाए । लगानीकर्ताको भावना र सञ्चालक समितिको निर्देशनले संस्था अगाडि बढिरहेको उनकाे भनाइ थियाे ।
आव २०७६/७७ मा १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अरब ५२ करोड २१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बिमा शुल्क वृद्धि भएको तथा भने चालु आवको चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब २८ करोड ६१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए । श्रेष्ठले नियमनकारी निकायको निर्देशन तथा राष्ट्रिय महत्वको बिषय रहेको लघु बिमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बिमालाई अगाडी बढाउँदै बिमा सेवालाई जनस्तरसम्म पुर्याउनको लागि ७ वटै प्रदेशमा शाखा विस्तार गरेको पनि जानकारी गराए ।
कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियम, आन्तरिक लेखा परीक्षण लगायत बिमा समितिबाट समय समयमा प्राप्त निर्देशनको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा सञ्चारमा विशेष ध्यान दिँदै डिजिटलमा विषेश ध्यान दिएको उनले बताए ।

























