गृहपृष्ठ एसईई परीक्षा सुरू : पाँच लाख १४ हजार सहभागी, असार मसान्तभित्र नतिजा

एसईई परीक्षा सुरू : पाँच लाख १४ हजार सहभागी, असार मसान्तभित्र नतिजा

एसईई परीक्षा सुरू : पाँच लाख १४ हजार सहभागी, असार मसान्तभित्र नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । बिहान ८ बजेबाट सुरू परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा छ । एसईई परीक्षा वैशाख २० गते सकिने छ ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सञ्चालन गरेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले निश्चित परीक्षा केन्द्रबाट दुई वर्ष पहिलेको जस्तै परीक्षा दिँदै छन् । देशभरका २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७ सय ६० विद्यार्थी सहभागी हुनेछन् । 

नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४ सय ५४ ले परीक्षा दिँदै छन् । ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन । २९९ प्राविधिक विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि सामेल हुँदै छन् ।

साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै नतिजा सार्वजनिक गरिसक्ने बोर्डले जनाएको छ । प्रदेशलाई उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणको काम सकेर पठाउने जिम्मेवारी बोर्डले दिएको छ ।

एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि सहभागी छन् ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु