गृहपृष्ठ भेरीमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु
भेरीमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु
नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ चिकित्सकीय अभिलेखीकरण प्रणाली सुरु गरिएको छ ।
जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटना र चोटपटकका बिरामीको उपचारसम्बन्धी विवरण सङ्कलन तथा अभिलेखीकरण गर्न प्रणाली सुरु गरिएको हो ।
अस्पतालका अनुसार हालसम्म बाँके र बर्दियाका २०५ महिला र १९३ पुरुष गरी ३९८ जनाले यस प्रणालीमार्फत उपचार सेवा पाएका छन् । सङ्कलित विवरणलाई व्यवस्थित रूपमा अध्ययन र विश्लेषण गरी उपचार तथा स्वास्थ्य सेवा सुधारमा प्रयोग गरिने अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा बद्री चापागाईंका अनुसार विषालु सर्प वा अन्य जीवजन्तुको टोकाइबाट उपचारमा आएका बिरामीको अवस्था, जोखिम, घाउ व्यवस्थापन, रेबिज रोकथाम, औषधि तथा शल्यक्रियासम्बन्धी विवरण अभिलेखमा राखिनेछ ।
उनका अनुसार यस प्रणालीबाट अनुसन्धान, स्वास्थ्य सेवा सुधार, उपचार निर्देशिका तथा स्वास्थ्य नीति निर्माणका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनेछ । साथै, कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन तथा अन्तरराष्ट्रिय सहकार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अस्पतालका अनुसार पछिल्लो करिब १५ दिनमा जनावरले टोकेका ३३४ र सर्पले टोकेका ५४ जनाको उपचार गरिएको छ । गत वर्ष मात्रै सर्प वा अन्य जनावरको टोकाइबाट घाइते भएका ८० जनाले भेरी अस्पतालमा उपचार गराएका थिए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जनावरको टोकाइबाट उपचारका लागि आउने बिरामीको विवरणलाई ‘बाइट रजिस्ट्र्री’ मा राखेर अध्ययन सुरु गरिएको बताए । उनका अनुसार यो विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धानको पहिलो संस्थागत परियोजना हो ।
डा दर्नालले अभिलेखीकरणबाट अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सकीय सेवा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यसले बिरामीलाई छिटो उपचार दिनुका साथै औषधिको अभावलगायत समस्या पहिचान गर्नसमेत सहयोग पुग्ने बताए । अनुसन्धान टोलीमा डा बद्री चापागाईंको नेतृत्वमा विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन् ।
अस्पतालका अनुसार गत साउन १६ गतेदेखि सुरु गरिएको यो अध्ययन निरन्तर सञ्चालन हुनेछ । अध्ययनमा कुकुरलगायत अन्य जनावरको टोकाइ, सर्पदंश, कीराफट्याङ्ग्रा तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राखिनेछ ।
प्रकाशित समय : ०५:०७ बजे


















