काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

1.11K
shares

ललितपुर । इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा पाँच वर्षीया बालिकामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ ।

किष्ट प्रत्यारोपण केन्द्रले यही भदौ २ गते ३३ वर्षीया आमाबाट पाँच वर्षीया छोरीमा जीवित दाता कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रबन्ध निर्देशक डा अविषेक थापाले जानकारी दिए । उनका अनुसार नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासका दृष्टिले यो महत्त्वपूर्ण उपलब्धि हो ।

विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो । प्रत्यारोपण अघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो । करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको डा थापाले बताए।

भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी पाँच वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गर्नुभएको थियो । आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष इ आशिष थापाले नेपालमै निजी अस्पतालबाट बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनु गौरवको विषय भएको बताए । “यस्तो जटिल उपचार सेवा नेपालमै उपलब्ध गराउने उद्देश्यअनुसार अस्पतालले दक्ष जनशक्ति, प्रविधि र पूर्वाधारको विकासमा निरन्तर लगानी गर्दै आएको छ । यस सफलताले नेपालमा बालबालिकाका लागि थप जटिल तथा विशेषज्ञ उपचार सेवा विस्तार गर्ने हौसला प्रदान गरेको छ”, उनले भने ।

त्यस्तै, अस्पतालका प्रबन्ध निर्देशक डा. अविषेक थापाले पाँच वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण किष्टका लागि मात्र नभई समग्र नेपाली स्वास्थ्य क्षेत्रकै महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले बालबालिकाका जटिल स्वास्थ्य समस्याको उपचारका लागि आवश्यक विशेषज्ञ टोली, अत्याधुनिक पूर्वाधार र समन्वयात्मक उपचार प्रणालीलाई थप सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उहाँका अनुसार आगामी दिनमा किष्टलाई बालबालिकाका लागि बहुविशेषज्ञ उपचार सेवा उपलब्ध गराउने केन्द्रका रूपमा थप विकास गरिनेछ । बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ । यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ । किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

एउटी आमाको त्याग, चिकित्सकको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले पाँच वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ । यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्त्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको अस्पतालका मिडिया कन्सल्टेन्ट राजकुमार सिल्वालले बताए ।