गृहपृष्ठ सुकेधाराको एजिङ होममा निःशुल्क आँखा शिविर, १०५ जनाको परीक्षण
सुकेधाराको एजिङ होममा निःशुल्क आँखा शिविर, १०५ जनाको परीक्षण
काठमाडौं । काठमाडौंको सुकेधारास्थित ‘एजिङ होम’मा एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
एजिङ होमको आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालित शिविरमा १०५ जनाको आँखा परीक्षण गरिएको थियो ।
शिविरमा डा. मनिषा गुरुङको नेतृत्वमा सात चिकित्सकको टोलीले आँखा परीक्षण तथा परामर्श दिएको थियो । परीक्षणका क्रममा १४ जनामा मोतिबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ ।
मोतिबिन्दु देखिएका सबै १४ जनाको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । यस्तै, दृष्टिदोष भएका १६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
एजिङ होमका संस्थापक राजेन्द्रसिंह नेगीले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिविर आयोजना गरिएको बताए । उमेरसँगै देखिने आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचारमा पहुँच पुर्याउन शिविर प्रभावकारी हुने उनको भनाइ छ ।
कार्यक्रममा सहभागी अधिवक्ता विष्णु गिरीले यस्ता स्वास्थ्य शिविरले सर्वसाधारणमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउन योगदान पुग्ने बताए ।
नेपाल आँखा अस्पतालका कार्यकारी बोर्ड सदस्य राजाराम श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा शिविरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न योगदान पुर्याएको भन्दै कार्यक्रम संयोजक राम केसी र समाजसेवी बेबिना खड्कालाई सम्मान गरिएको थियो ।
एजिङ होमले ज्येष्ठ नागरिकको स्वास्थ्य तथा कल्याणका लागि आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रकाशित समय : १०:५१ बजे


















