गृहपृष्ठ जलविद्युत् बढे पनि घटेन आयात : भारतबाट एक वर्षमा १० अर्ब ५५ करोडको बिजुली
जलविद्युत् बढे पनि घटेन आयात : भारतबाट एक वर्षमा १० अर्ब ५५ करोडको बिजुली
काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८२/८३ मा भारतबाट १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार प्रतिनिधिसभा बैठकमा नेपालको विद्युत् उत्पादन तथा आपूर्तिको अवस्थाबारे जानकारी दिँदै सुख्खायाममा स्वदेशी उत्पादनले आन्तरिक माग धान्न नसक्दा भारतबाट विद्युत् आयात गर्नुपरेको बताएका हुन् ।
मन्त्री श्रेष्ठका अनुसार नेपालको विद्युत् उत्पादन मुख्यतः नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनामा निर्भर छ । वर्षायाममा पानीको बहाव बढ्दा उत्पादन उल्लेख्य हुने भए पनि हिउँदमा नदीको बहाव घटेसँगै विद्युत् उत्पादन पनि कम हुने गरेको छ ।
पछिल्लो समय नेपालमा जलविद्युत् उत्पादन क्षमता बढ्दै गएको छ । वर्षायाममा आन्तरिक मागभन्दा बढी विद्युत् उत्पादन हुने भएकाले भारत र बंगलादेशमा निर्यातसमेत हुँदै आएको छ । तर सुख्खायाममा उत्पादन घट्दा भने आन्तरिक माग धान्न भारतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्था छ ।
विद्युतीय सवारीसाधन, उद्योग, घरायसी उपकरणलगायत क्षेत्रमा विद्युत्को प्रयोग बढ्दै जाँदा आगामी दिनमा आन्तरिक माग थप बढ्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा उत्पादनमा देखिएको मौसमी असन्तुलन कम गर्नु ऊर्जा क्षेत्रको मुख्य चुनौती बनेको छ ।
सुख्खायाममा हुने विद्युत् अभाव कम गर्न जलाशययुक्त तथा अर्धजलाशययुक्त आयोजना निर्माणसँगै प्रसारण र वितरण पूर्वाधार विस्तारमा जोड दिनुपर्ने देखिएको छ । यस्ता आयोजनाले वर्षायाममा संचित पानी हिउँदमा प्रयोग गरी विद्युत् उत्पादन गर्न सक्ने भएकाले मौसमी असन्तुलन घटाउन सहयोग पुग्नेछ ।
नेपालले पछिल्ला वर्षमा विद्युत् उत्पादन विस्तार गर्दै वर्षायाममा भारत तथा बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको छ । तर एउटै आर्थिक वर्षमा ठूलो रकम बराबरको विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्थाले नेपाल अझै सुख्खायामको उत्पादनमा परनिर्भर रहेको देखाउँछ ।
त्यसैले आगामी दिनमा सुख्खायामको आयात घटाउँदै वर्षभरि स्वदेशी उत्पादनबाट आन्तरिक माग धान्ने र अतिरिक्त विद्युत् क्षेत्रीय बजारमा निर्यात गर्ने नीति आवश्यक देखिएको छ ।
प्रकाशित समय : १०:४७ बजे


















