गृहपृष्ठ हाम्रो पात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने
हाम्रो पात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने
हाम्रो पात्रो रेमिटबाट अब मासिक ५० हजार डलरसम्म रकम पठाउन मिल्ने भएको छ । रेमिट्यान्स सेवा सुरू भएको ७ महिनापछि हाम्रो रेमिटले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ ।
‘अहिलेसम्म प्रति व्यक्तिले ६ महिनामा अधिकतम ३०,००० अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो भने अबदेखि यो सिमा बढेर एक लाख डलरसम्म पठाउन मिल्ने व्यवस्था छ। प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा लागू हुनेछ’, हाम्रो रेमिटले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पात्रोको रूपमा सुरु भएको हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ।
‘तत्कालका लागि रेमिटेन्स पठाएको दुई देखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने गरेकोमा अबको एक महिनाभित्र इन्स्टेन्ट पे को सुविधा उपलब्ध हुनेछ जस अन्तर्गत रकम पठाएको केहि मिनेट मै नेपालको बैंक खातामा पैसा जम्मा हुनेछ,’ हाम्रो पात्रोको संस्थापकर सीईओ शंकर उप्रेतीले भने । प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड गर्नुपर्नेछ ।
साथै वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १७:१५ बजे


















