त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : अपराजित रहँदै नेपाल फाइनलमा
वि.सं.२०७८ चैत १९ शनिवार २२:०३
shares

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा अपराजित रहँदै नेपाल फाइनल प्रवेश गरेकाे छ । सिरिजको अन्तिम लिग खेलमा नेपालले शनिबार मलेसियालाई ८५ रनले पराजित गर्याे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । आक्रामक इनिङ खेलेका भिरनदीपले २६ बलमा ९ चौका प्रहार गरे । कमल सिंह ऐरीको बलमा भिरनदिपले फ्लिक गरेको बल डिप मिडविकेटमा आसिफ शेखले उफ्रेर क्याच गर्दा अर्धशतकबाट ३ रनले पछि परे ।
मलेसियाका ओपनर जुबाईदी जुल्कफ्ले कमलको बलमा डक भए । कप्तान आहमद फैजले ३१ बलमा ३ चौका प्रहार गर्दै ३३ रन बनाए । सेइद अजिजले १३ बलमा १७ रन बनाउँदा शर्भिन मुनियडी १ रनमा रनआउट भए । मुहमद अमिर ८ बल खेल्दा १ रन बनाएर स्टम्पिङ भए । मुहमद सेहदतले ८, ऐनोल हफिजले १८ रनको योगदान गरे ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे । कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले आफ्नो टी-ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा समान १/१ विकेट लिँदै पहिलो विकेट लिन सफल भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।
दिपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठुलो स्कोर बनाएको थियो । दिपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो शतक पूरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो ।
रोहित पौडेलले समेत टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पूरा गरे । रोहितले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए । ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए । आदील अन्सारी ९ बलमा १ छक्का प्रहार गर्दै अन्तिम बलमा १४ रन जोडेर रन आउट भए । मलेसियाका मुहमद वाफिक, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहमद अमिरले १/१ विकेट लिए ।
सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्ष स्थानबाट फाइनल पुगेको छ । मलेसिया पराजित भएसँगै सिरिजबाट बाहिरियो । फाइनलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने छन् ।

























