सामाजिक समस्यासँग जुधिरहनुभएकी पार्वतीले नागरिकता पाएपछि …
वि.सं.२०८३ कात्तिक १४ शनिवार ०५:३३
shares

भद्रपुर । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ ।
नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी उनले अब एकल महिला भत्ता पाउने भएको छन् । श्रीमान् शंकर ऋषिदेवको मृत्युपछि पार्वतीको जीवन थप कष्टकर बनेको थियो । आर्थिक अवस्था कमजोर हुनुका साथै नागरिकता नहुँदा उनि सरकारी सेवा सुविधाको पहुँचबाट बाहिर रहेको थिए । दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोग्दै आएको थिए।
नागरिकता प्राप्तीपछि खुसी हुँदै पार्वतिले भने“नागरिकता नहुँदा धेरै समस्या थियो । अहिले नागरिकता बनेको छ, भत्ता पनि पाउने भएँ । मोबाइलसमेत पाएकी छु । अब घर पनि बनाइदिने भनेका छन्, यसले मलाई धेरै खुसी लागेको छ ।”
उनको अवस्थाबारे जानकारी पाएपछि शिवसताक्षी नगरपालिका–८का वडाध्यक्ष सन्तकुमार फेउदिनले नागरिकता बनाउन पहल गरेका थिए । उनकै पहलमा पार्वतीले शत्रबार वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका हुन् । त्यसपछि वडा कार्यालयले एकल महिला सामाजिक सुरक्षा परिचयपत्र बनाइदिएको छ । अब उनले चालु आर्थिक वर्षको कात्तिकदेखि मासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन्।
वडा सचिव पुष्पलाल पाण्डेले सामाजिक सुरक्षा परिचयपत्र उहाँकै घरमा पु¥याइदिएको छन् । कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राखेर घरमै परिचयपत्र पु¥याइएको उनले बताए ।
नागरिकता र सामाजिक सुरक्षा भत्ताको पहुँच खुले पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । सुरक्षित आवास नभएकी उनका लागि आगामी मङ्सिरदेखि घर निर्माण गरिदिने प्रतिबद्धता वडाध्यक्ष फेउदिनले जनाएको छन् ।
“नागरिकता, सामाजिक सुरक्षा र मोबाइल फोनको व्यवस्था गरेपछि पनि पार्वतीको समस्या पूर्ण रूपमा समाधान भएको छैन । उनलाई सुरक्षित रूपमा बस्न मिल्ने घरको आवश्यकता छ । त्यसैले मङ्सिरदेखि घर निर्माणको काम अघि बढाउने योजना बनाएको छु,” उनले भने ।
वडाध्यक्ष फेउदिनले आफ्नो वडाका आर्थिक रूपमा विपन्न, अपाङ्गता भएका तथा उपचार र दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई व्यक्तिगत पहलमा सहयोग गर्दै आएको बताए ।

























